कोशी

सामाजिक सञ्जालको प्रयोगबाट एकै बर्षमा १ अर्ब ९ करोड ठगी, गिरोहका ७ पक्राउ

बाबुराम भण्डारी |
असार २७, २०८० बुधबार २२:९ बजे

विराटनगर - विभिन्न सामाजिक सञ्जालका ग्रुप र पेजको प्रयोग गरेर एकै बर्षमा १ अर्ब ९ बढि रकम असुली गर्ने सात जनाको गिरोह पक्राउ परेको छ । उनीहरुले फेसबुक पेज र ह्वाट्सएपमार्फत सम्पर्क गरी सर्वसाधारण व्यक्तिहरुबाट लाखौं रुपैयाँ ठगी गर्ने गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका सात जनाको खातामा एक बर्षको अवधिमा १ अर्ब ८ करोड १ लाख ४२ हजार ३९३ रुपैयाँ जम्मा भएको अनुसन्धानबाट फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा आइटी इन्जिनीयर रहेका एक भारतीय नागरिक र ६ जना नेपाली रहेका छन् । 


पक्राउ पर्नेमा भारतको उत्तराखण्डस्थित पौडीगढवाल जिल्लाका ३६ वर्षीय आइटी इन्जिनियर प्रविण भट्ट, सप्तरीको राजविराज नगरपालिका–१ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका–२ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह, गुल्मीको इस्मा गाउँपालिका–५ का ३२ वर्षीय ध्रुव थापा, मोरङको विराटनगर महनागरपालिकाका ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका–१ बेलैतिबारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरका २३ वर्षीय रुस्तम मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई अमेरिकी डलर र विदेशी सामानहरु पठाएको भन्दै प्रलोभनमा पार्ने गरेको खुलेको छ । विदेशबाट आएको डलर र सामान एयरपोर्टमा रोकिएकोले त्यस वापत कर तिर्न लाखौं रुपैयाँ बैंक डिपोजिट माग्ने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीको भनाई छ । 

पछिल्लो पटक उदयपुरको कटारी नगरपालिका–४ की ३६ वर्षीया सरिता तामाङसँग गुडनेस इजरायल नामको फेसबुक आइडीबाट साथी बनाएर १ लाख ३० हजार ६२७ रुपैयाँ ठगी गरेको उजुरी प्राप्त भएपछि प्रहरीले गोप्य अनुसन्धान अघि बढाएको थियो ।

गिरोहले तामाङलाई विदेशबाट लगेज लगायतको ७० हजार अमेरिकी डलरका सामानहरु पठाएको र ती सामानहरू भन्सारमा रोकिएको भन्दै प्रलोभनमा पारेका थिए । सामान लिनका लागि उक्त रकम खातामा जम्मा गर्नुपर्ने शर्त राखेपछि तामाङले पनि पैसा जम्मा गरिदिएकी थिइन् । तर पछि आफु ठगिएको थाहा पाएर उनले इलाका प्रहरी कार्यालय कटारीमा उजुरी गरेपछि प्रहरीले उक्त गिरोहका सात जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले गत जेठ ८ मा हाल विर्तामोड–५ इन्द्रटोलमा बस्दै आएका भारतीय नागरिक भट्टलाई पक्राउ गरेको थियो । त्यसपछि क्रमशः संलग्न अन्य व्यक्तिहरू पक्राउ परेको जनाइएको छ । उनीहरुलाई  उजुरीकै आधारमा अनुसन्धानमा जुटेको प्रहरी टोलीले गिरोहलाई नै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक फुयाँलले बताए ।

पक्राउ परेका व्यक्तिहरु सामाजिक सञ्जालको प्रयोगसम्बन्धी जानकारी राख्ने आइटी इन्जिनीयरसमेतको संलग्नतामा ठगी गरेको देखिएकोले संगठित अपराधमा संलग्न रहेको दाबी गरेको छ । उनीहरुले विभिन्न व्यक्तिहरुबाट रकम ठगेर एउटा बैंकको खातामा जम्मा गर्ने र आफ्नो हिस्सा वापतको रकम राखेर बाँकी रकम अर्कोको नाममा पठाउने गरेको पनि अनुसन्धानमा खुलेको हो । उक्त गिरोह व्यक्ति ठगीदेखि हुण्डीको समेत कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत उदयपुरबाट पाँच पटक म्याद थप गरी ५२ दिन हिरासतमा राखेर ठगी गिरोहको अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक फुयाँलले जानकारी दिए ।

उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) का साथै संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान समेत अघि बढाइएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x