कोशी

कोशीमा जीवन आचार्यलाई रोजेको मन्त्रालय, तीन मन्त्रीले लिए सपथ

बाबुराम भण्डारी |
असार २४, २०८० आइतबार १०:५० बजे

विराटनगर- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका जीवन आचार्य दोहोरिएर मन्त्री बनेका छन् । यसअघिको हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री भएर पाँच महिना बढि समय काम गरेका आचार्य पुनः उद्वव थापा नेतृत्वको वर्तमान सरकारमा रोजेको आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् ।

आचार्यलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतबार साढे १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । 


त्यसैगरी नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री र माओवादी केन्द्रबाट राजेन्द्र कार्कीले विनाबिभागीय मन्त्रीको सपथ लिएका छन् ।

माओवादीमा अघिल्लो पटक मन्त्री बनेकालाई दोहोर्‍याएर मन्त्री नबनाउने भन्दै संसदीय दलभित्रै चर्को विवाद भएको थियो । तर पार्टी माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डको ‘लाइन’ लत्याउन नसकेका दलका नेता इन्द्र बहादुर आङ्बो, पार्टी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ र कोशी प्रदेश इन्चार्ज राम कार्कीकै सहमतिमा आचार्य पुनः शक्तिशाली मन्त्रालयको नेतृत्वमा पुगेका हुन् । आर्चाय नातामा प्रचण्डका ज्वाईं हुन् ।

पार्टीभित्र दोहोरिएर मन्त्री बनाउने नबनाउने बिषयमा विवाद हुँदा समन्वयका लागि नेता त्रयको अलग्गै कार्यदल बनाइएको थियो । ‘हेडक्वाटर’ को निर्देशन बमोजिम आचार्यलाई सरकारमा पठाउनुपर्ने बाध्यात्मक अवस्था बनेको माओवादी केन्द्रकै एक नेताले इकागजलाई बताए ।

अघिल्लो सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गरेका पार्टी केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाँईले दोहोरिएर मन्त्री बन्न नहुने बिषयमा खुलेरै लविङ गरेका थिए । दलभित्र आलोपालो गरौं भन्ने राय सुझाव प्राप्त भएकोले आफु दोहोरिएर मन्त्री नचाहेको कुरा शनिबार नै सामाजिक संजालमा उल्लेख गरेका थिए ।

मन्त्रीका आकांक्षी प्रदेश सभा सदस्य गणेश उप्रेतीले पनि दोहोरिएर मन्त्री बन्ने दाउमा रहेका आचार्यप्रति लक्षित गर्दै ‘हुँदा छँदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आसक्त भएकाहरुले’ भन्दै फेसबुकमार्फत आक्रोस पोखेका थिए । 

कोशी प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख बनेका बाबुराम गौतमले थापा नेतृत्वको सरकार गठनमा प्रदेश सभा सदस्यको हैसियतले हस्ताक्षर गरेपनि उनीमात्रै आलोचित बनेनन्, पार्टीको निर्णय क्षमतालाई नै विवादित बनाइसकेका छन् । 

प्रदेश सभा सदस्य उप्रेतिले दोहोरिएर मन्त्री बन्न लालयित भएका व्यक्तिहरुकै कारण सभामुखलाई विवादमा पारिएको जिकिर गरिरहेका छन् ।

आचार्य भने शुक्रबार नै मन्त्रिमण्डल विस्तारमै मन्त्रालयसहित सपथ लिएका हुन् । शुक्रबार नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु पनि विना विभागीय मन्त्री नियुक्त भइसकेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x