राजनीति

'नगरभित्रका संस्कृति र सभ्यताको संरक्षण गर्ने अभिभावक बन्‍नु छ'

अतिन आचार्य |
बैशाख २२, २०७९ बिहीबार ७:८ बजे

काठमाडौँसुनसरी, रामधुनी नगरपालिकाका नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बनेका सुदीप अधिकारी पनि मत माग्न पनि घरदैलोमा पुगिरहेका छन्। बुधबार मध्यान्हमा वडा- २ का मतदाताको घरदैलोमा पुग्दा भने उनले फरक महसुस गरे । उक्त वडामा आदिवासी थारु समुदायको सबैभन्दा बढी बाहुल्यता रहेको छ । 

मेयरका उम्मेदवार अधिकारीलाई थारु समुदायका मतदाताले भने,' हाम्रो संस्कृति र सभ्यता हरायो । संरक्षण र सभ्यताको खोजी गर्ने अभिभावक चाहिएको छ । भएका संस्कृति लोप हुने अवस्थामा पुगिसक्यो ।'


 

यसअघि उनी नगरका अन्य वडामा पनि पुगेका थिए । उनले यस्ता अभिभावकत्वको खोजी गरेको मतदाताबाट सुनेका थिएनन् । अरु मतदाताले उनीसँग विकासका कुराहरू गर्थे । बाटोघाटो, पानी र गुणस्तरीय शिक्षाको माग गर्थे । तर, त्यहाँका मतदाताले थारु संस्कृतिका कुरा गरे ।

संस्कृति र सभ्यताको संरक्षण

मतदाताले उनीसँग किन संस्कृति र सभ्यताको कुरा गरे ? अधिकारीको जवाफ छ,' संस्कृतिका धनी थारु समुदायका अभिभावक हराए ।' रामधुनी नगरमा आदिवासी थारु समुदायको बाहुल्यता छ । उनीहरूको रितिरिवाज हराउँदै गएकाले त्यो समुदायमा नैराश्यता छाएको हुन सक्ने उनले महसुस गरे ।

मेयरका उम्मेदवार अधिकारीसँग थारु समुदायका मतदाताले संस्कृति, सम्पदा र ग्रामथानको रक्षा गर्न माग गरेका छन् । उनीहरूले ग्रामथान संरक्षण गर्ने अभिभावक खोजिरहेको मेयरका उम्मेदवार अधिकारीले इकागजलाई बताए ।

स्थानीय नेता घरदैलोमा पुग्दा विकास वा आफ्ना सन्तानका निम्ती मतदाताले जागिर माग्थे होला तर थारु समुदायले आफ्नो लागि जागिर, खाना र बसोबासको कुरा गरेनन् । थारु समुदायका पढे लेखेका युवायुवतीलाई रोजगारी दिलाउने योजनासहित अधिकारी चुनावी मैदानमा होमिएका छन् । उनी भन्छन्, ' आफ्नो कार्यकालमा थारु समुदायका छात्राहरूलाई नि:शुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नेछु ।'

रामधुनी नगरको नामाकरण प्रशिद्ध रामधुनी मन्दिरको नामबाट गरिएको हो । वडा ४ मा उक्त मन्दिर अवस्थित छ । उनले हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल भएकाले धार्मिक पर्यटकको भित्र्याउने योजना सुनाए । तीर्थस्थललाई व्यवस्थित र आकर्षक बनाएर युवालाई स्वरोजगार बनाउन सकिने उनले बताए ।

अधिकारीको योजनामा नगरबासीलाई शिक्षाको पहुँचमा पुर्‍याउने छ । १५ देखि २५ शैय्याको नगरमा स्वास्थ्य अस्पताल बनाउने र आदिवासी समुदायका छात्रालाई नि:शुल्क पठनपाठन गराइने योजना राखेका छन् उनले ।

नगरमा कृषि योग्य जमिन धेरै भएकाेले पकेट क्षेत्र घोषणा गरी कृषिजन्य सामग्रीको उत्पादन बढाउने कार्यक्रम ल्याउने उनले बताए। किसानले उत्पादन गरेका सामग्रीहरूलाई बजारीकरण गर्ने व्यवस्था मिलाउने उनकाे भनाइ छ ।

स्मार्ट भिलेजको परिकल्पना  

रामधुनीमा अधिकांश ठाउँ ग्रामीण भेग छन् । बढी ग्रामीण भेग भएकाले 'स्मार्ट भिलेज' को अवधारणा ल्याएका छन् उनले । प्रत्येक वडाको सार्वजनिक स्थलमा 'फ्री वाइफाइ'को व्यवस्था गरिने उनले बताए । ज्येष्ठ नागरिकलाई घर-घरमा लगेर सामाजिक भत्ता वितरण गरिने उनको भनाइ छ ।

गत स्थानीय निर्वाचनमा पनि नगरको मेयरमा कांग्रेसकै उम्मेदवार मेयर जयप्रकाश चौधरी निर्वाचित भएका थिए । अधिकारीको काँधमा यसपटक भने कांग्रेसको साँख जोगाउने जिम्मेवारी आइपरेको छ । कतिपय वडालाई अहिले पनि कम्युनिष्टको किल्ला मानिन्छ । जुन वडाबाट उनको मतमा प्रभाव पर्ने देखिएको छ ।

तीन दशकसम्म कम्युनिष्टले नगरमा शासन गरे तर, नगरबासीलाई परिवर्तनको आभास दिलाउन नसकेको उनी ठान्छन् । नगरबासीको चाहनाअनुरुप यसअघिका नगर प्रमुखले काम गर्न नसक्दा विजयी हुने आधार बनेको उनले दाबी गरे ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार चौधरीले ९ हजार ७०६ मत प्राप्त गरी विजयी भएका थिए । एमालेका उम्मेदवार नन्दु बस्नेतले भने ८ हजार ८५० मत ल्याए र चौधरीले ८५६ मत ल्याएर विजयी भए ।

नगरको अभिभावक हुन कस्सिएका अधिकारी को हुन ?

अधिकारी कांग्रेसको सक्रिय राजनीतिमा होमिएका दुई दशकभन्दा बढी भइसकेको छ । भातृ संगठन नेविसंघको राजनीतिबाट प्रवेश गरेका उनी विद्यार्थीकालीन समयदेखि राजनीतिमा सक्रिय छन् । २०५५ सालमा जनता क्याम्पसमा नेविसंघको राजनीतिमा सहयोगी भूमिका निर्वाह गरेका थिए ।

उनी तत्कालीन भासी गाउँ इकाइ समितिको तरुण दलका सभापति बने । राजनीतिदेखि सामाजिक जीवनमा सक्रिय अधिकारी पार्टीको मूल राजनीतिमा प्रवेश गरेको अनुभव उनीसँग छ । नगर समितिको नेतृत्वमा छन् उनी । २०७३ मा नगर सभापति बनेका दोस्रो पटक २०७८ मा पनि नगर सभापति बनेर नेतृत्व सम्हालिरहेका छन् ।

३९ वर्षीय अधिकारी विपी कोइरालाबाट प्रभावित भएर कांग्रेसको राजनीतिमा प्रवेश गरेको बताउँछन् । 'राजनीतिमा कोही न कोही आदर्श व्यक्ति हुनुपर्छ,' उनी भन्छन,' विपीको दर्शन, साहित्य र विचारबाट प्रेरित भएको हुँ ।'

उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । राजनीतिमा अध्ययन गरेका पुस्ता सहभागी भएमा नगरभित्र नीति निर्माण गर्न सहज हुने उनको बुझाइ छ । नगरभित्र रहेका सामुदायिक विद्यालयबाट गुणस्तर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने उनले बताए । स्थानीय जनजातिका मातृभाषालाई तल्लो तहका कक्षाबाट पठनपाठनका लागि लागू गरिने उद्घोष गरे ।

नगरभित्र रहेका ताल पोखरीलाई पर्यटनका लागि विकास गरिने अधिकारीको भनाइ छ । ‘के छैन यहाँ ? ऐतिहासिक मठमन्दिर र ताल छन् । यसबाट रोजगारी सिर्जना गर्न सकिन्छ । यो डलर फल्ने देश हो । यस्तो ठाउँ छोडेर युवा खाडीकाे मुलुक जान बाध्य छन्', उनले भने ।

नगरका युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिएको उनको बुझाइ छ । राजनीतिक र सामजिक नेतृत्वमा रहेका व्यक्तिहरू रोक्न सफल नभएको उनले ठम्याए । अधिकारीको निचोड छ,' युवा नेतृत्व आफैँ मैदानमा उत्रनु नेपाली समाजमा सकरात्मक विषय हो । अरु विकल्प बाँकी नरहेकाले पनि नगरको अभिभावक बन्ने तयारीमा छु ।'

नेतृत्वको भिजन नहुँदा नागरिकको जीवनस्तर माथि उठ्न नसक्दा नगरलाई सफा र स्वच्छ राख्न नसकिएको उनको बुझाइ छ । ‘भिजनविना नेतृत्व लिए पनि प्रभावकारी काम गर्न सकिँदैन,’ अधिकारीले नगरको अवस्था सम्झदै भने,'नगरबासीको जीवनस्तर उकासेर देखाउन चाहन्छु । आफ्नो ठाउँ आफैँ बनाउन सकिने भिजन म सँग छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x