राजनीति

किन चयन हुन सकेन जसपा दलको नेता र मुख्य सचेतक ?

ओलीले जसपा फुटाउँछन् भनेर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन

मधुसुधन भट्टराई |
चैत ४, २०७७ बुधबार २०:३३ बजे

काठमाडौँ : सत्ता फेरबदलका लागि राजनीतिक दलहरू एक-अर्कासँग छलफलमा व्यस्त छन् । अझै समिकरणको टुंगो लागेको छैन । मूलत सत्ता फेरबदलमा सक्रिय रहेको माओवादी केन्द्र र जनता समाजबादी पार्टी (जसपा) आफै भित्र अन्यौल छ । हुन पनि, सत्ता फेरबदलमा मियोको रूपमा जसपा संसदीय दलको नेताविहिन नै छ । यता माओवादी केन्द्रले भने अझै सरकारलाई दिएको समर्थत फिर्ता गरेको छैन ।
 
गत बैशाख ११ गते राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपाले अहिलेसम्म दलको नेता र मुख्य सचेतक चयन गर्न सकेको छैन । त्यतिमात्र होइन, अहिलेसम्म सिंहदरबारस्थित प्रतिनिधि सभा सचिवालयमा राजपा र समाजवादी पार्टीका छुट्टाछुट्टै दलका कार्यालय छन् । र दलको नेता र मुख्य सचेतकको हैसियतमा दुवै दलबाट नेताहरूले सचिवालयबाट सेवा सुविधा लिइरहेका छन् ।
 
पार्टी एकीकरण भएको ११ महिनापछि दल एकीकरण भएको घोषणा गरिएको थियो । २५ फागुनमा बसेको दलको बैठकमा संसदीय दल एकीकरण भएको घोषणा गरिएको थियो । र जेष्ठ सदस्यको हैसियतमा त्यो बैठकको अध्यक्षता पार्टी अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । र बैठकमा एकीकृत दलको विधानको मस्यौदा पनि पार्टीका सांसदहरूलाई बाडियो ।
 
पार्टीले तत्कालिन राजपा नेता तथा सांसद अनिल झा र तत्कालिन समाजवादी पार्टीका नेता तथा सांसद रामसहाय यादवलाई दलको विधानको मस्यौदा बनाउने  जिम्मेवारी दिएको थियो । तर, विधानले पूर्णता नपाएको भन्दै शुक्रबारको बैठकले पारित गरेन । र सदस्यहरूलाई पूरा गरेर ल्याउन निर्देशन दियो ।
 
अन्य नेताहरू विधान बनिनसकेकाले दलको नेता र मुख्य सचेतक चयनमा ढिलाइ भएको बताउँदै आएका छन् । विधान मस्यौदा समितिका सदस्य झा भने विधानका कारण दलको नेता र मुख्य सचेतक चुन्‍न कुर्नपर्ने अवस्था नरहेको बताउँछन् । ‘विधानको कारणले दलको नेता र मुख्य सचेतक चयनका लागि कुर्न पर्ने अवस्था छैन । हामीले मोटामोटी तयार गरिसकेका छौ । चाहियो भन्दा पूर्ण गर्न सक्ने अवस्थामा हामी पुगेका छौ,’ झाले भने ।
 
तर, दलको नेता चयन हुन नसक्नुमा आकांक्षी धेरै भएर हो । अहिले दलको नेतामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता महतोले आकांक्षा देखाइरहेका छन् । कुरा मिल्न सकिरहेको छैन । 

पार्टी एकीकरणका बेला अध्यक्षद्वयले दलको नेतामा दाबी नगर्ने अनौपचारिक सहमति भएको थियो । तर, अहिले अध्यक्षद्वय त्यो अनौपचारिक सहमतिविपरीत आफूहरू नै संसदीयदलको बन्‍न भन्दै हिडिरहेका छन् । नेताहरूका अनुसार पार्टी एकीकरणका बेला नेता महतोलाई दलको नेता बनाउने अनौपचारिक सहमति भएको थियो ।
 
अहिले महतोले अनौपचारिक सहमति सम्झाउँदै आएका छन् भने यादव भने आफू नै बन्‍नुपर्ने पक्षमा छन् । भित्री रूपमा ठाकुरले आफू बन्‍न कसरत गरिरहे पनि महतो पक्षका पार्टी नेता कार्यकताहरूसँग आफूले दलको नेतामा दाबी नगर्ने बताउँदै आएका छन् । ठाकुर र महतो तत्कालिन राजपामा थिए । 


अहिले जसपामा पूर्वराजपावाला नेताहरू सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक देखिएका छन् भने पूर्वसमाजवादी पार्टीका नेताहरू विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग नजिक देखिएका छन् । ठाकुर र महतो ओलीको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई कांग्रेस र माओवादी नजिक देखिएका छन् ।
 
ओलीको प्रयास जसपालाई फकाएर वा फुटाए आफ्नो तर्फ ल्याएर माओवादी केन्द्र निस्किए पनि सरकारको नेतृत्व गरिरहने भन्‍ने नै छ । यही कारण पनि दलको नेता को बन्छ भन्‍ने विषयले सत्ता समीकरण कस्तो बन्छ भन्‍ने निर्धारण गर्ने प्रायः निश्‍चित रहेको जसपाका नेताहरू बताउँछन् । यो विषयमा अध्यक्ष द्वय ठाकुर र यादव बोल्न चाहँदैनन् । अन्य माथिल्ला नेताहरू छलफल भइरहेको मात्र बताउँछन् । 

माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने वित्तिकै प्रमुख प्रतिपक्ष रहेको कांग्रेसले ओलीलाई नै समर्थन गरेर सरकारमा जान नसक्ने हुनाले पनि जसपा यतिबेला राजनीतिक केन्द्रमा परेको हो । र आम जनतामा जसपाले कस्तो निर्णय गरेर अघि बढ्ला भन्‍ने चासो देखिन्छ ।
 
जसपा यतिबेला सत्तामा जानका लागि आफ्ना संविधानसँग जोडिएका माग र आफ्नो नेता तथा कार्यकर्ता छुटाउने मागमा लागि परेका छन् । अहिले प्रतिनिधि सभामा जसपाको ३४ सिट छ । त्यो मध्य हरिनारायण रौनियार  (समाजवादी पार्टी) र रेशम चौधरी (राजपा) निलम्बनमा छन् । बाँकी ३२ सिटमा राजपाको १६ र समाजवादी पार्टीको १६ सांसद संख्या छ । यसबाट स्पष्ट के हुन्छ भने एमालेका असन्तुष्ट पक्ष ओलीसँगै रहेमा जसपा फुटेर जाँदा पनि ओलीलाई बहुमत पुग्छ ।  
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x