राजनीति

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

'माओवादी र जसपालाई साथ लिए बहुमत पुग्छ'

मधुसुधन भट्टराई |
फागुन २४, २०७७ सोमबार २०:१३ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गैर-एमाले गठबन्धन निर्माण गरी आफ्नै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने भएको छ । कांग्रेस-एमाले पार्टीको परम्परागत प्रतिष्पर्धी भन्दै ऊबाहेकका दललाई साथमा लिएर नयाँ सरकार निर्माण गर्ने तयारीमा लाग्‍ने भएको हो । सर्वोच्च अदालतले आइतबार मात्रै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो । सर्वोच्चको यो आदेशसँगै सत्तारुढ नेकपा पार्टी अवैधानिक भएको छ । अब सत्तारुढ दल नेकपा पूर्ववत्ः नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा विभाजित भएको छ । 

नेकपा अवैधानिक भएसँगै केपी शर्मा ओली नेतृत्वको सहज बहुमतको सरकार माओवादीले दिएको समर्थन फिर्ता लिने बित्तिकै अल्पमतमा पर्छ । त्यसपछि ओलीले संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिँदा सकभर उनलाई विश्वासका लागि आवश्यक मत पुग्‍ने नदिने र पार्टी नेतृत्वमा सरकार बनाउने तयारी कांग्रेसले गर्ने नेताहरू बताउँछन् ।


कांग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले एमाले बाहेकका प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलहरू समेट्दै कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गर्ने बताए । ‘सर्वोच्चको निर्णयपछि राजनीति गठबन्धन सरकार निर्माणतिर मोडिएको छ । एमाले-कांग्रेसको परम्परागत प्रतिष्पर्धी पार्टी हुन्,’ साउदले इकागजसँग भने, ‘तसर्थ, कांग्रेसले उ बाहेकका प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूसंग मिलेर सरकार बनाउने प्रयास गर्छ ।’

केन्द्रीय सदस्य गगन थापाले कांग्रेसले मुख्यगरी संविधानलाई ट्रयाकमा राख्‍ने र प्रधानमन्त्रीमा केपी शर्मा ओलीको निरन्तरता भंग गर्ने निर्णय गरी अघि बढ्ने बताए । ‘हामीले अब निर्णय गर्दा मुख्य गरी दुई कुरा हेर्छौ । पहिलो सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने जटिलता छन् । यी जटिलता फुकाइएन भने ठूलो संकट निम्त्याउन सक्छ । त्यसैले अदालतको निर्णय कार्यान्वयन गर्ने र संविधानलाई ट्रयाकमा कसरी ल्याउने भन्‍ने विषय कांग्रेसले हेर्छ,’ थापाले इकागजसँग भने, ‘दोस्रो प्रधानमन्त्री ओलीले सर्वसत्तावादी व्यवहार र चिन्तन देखाइरहेका छन् । हेर्दाखेरी संविधानमा टेकेजस्तो देखिने तर, त्यसका सबै आधारहरु भत्काउने काम ओलीले गरेकाले रोकिएन भने झन्-झन् भत्काउँदै जान्छन् । तसर्थ जसरी हुन्छ, ओलीको निरन्तरतालाई रोक्ने प्रयास गर्छौ ।’ 

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता एमाले, कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले पाएका छन् । एमाले छाडेर कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको प्रतिनिधि सभामा बहुमत पुग्छ । २७५ सदस्य रहेको प्रतिनिधि सभामा बहुमत पुर्‍याउन १३८ सांसद आवश्यक पर्छ । कांग्रेसका २ (विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम) र जसपाका २ (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमा छन् । एक सदस्यको निधन भएको छ । कांग्रेस ६१, माओवादी ५३ र जसपा ३२ गरी १४६ पुग्छ ।

साउदले कांग्रेससँग कि एमालेका साथमा या गैरएमाले गठबन्धन निमार्ण गर्ने विकल्प कांग्रेससँग रहेको बताए । तर, पार्टीभित्र गैरएमाले समीकरणमा आधारित सरकार गठन गर्नुपर्छ भन्‍ने मा बलियो मत रहेको बताए । ‘पार्टीभित्र गैरएमाले गठबन्धन बनाएर अगाडि बढ्नुपर्छ भन्‍ने बलियो मत छ,’ साउदले भने, ‘गैरएमाले गठबन्धनमा सबैभन्दा ठूलो पार्टी कांग्रेस भएकाले अन्य दलहरूले स्वीकारे कांग्रेसको नेतृत्व स्वभाविक हुन्छ ।’

थापाले पनि ओली बेगरको नेतृत्वमा सरकार बनाउन छलफल गर्न कांग्रेस लागिपर्नुपर्ने बताए । ‘ओलीलाई रोक्ने कसरी हो भन्‍ने सबै विकल्प खुला राखेर छलफल अगाडि बढाउँछौ,’ थापाले भने, ‘यसमा ओली बेगरमा र कांग्रेस नेतृत्वमा सरकार बनाउने विषयमा पनि छलफल चलाउन सकिन्छ ।’

नेता रामचन्द्र पौडेलले अबको बाटो त्यति सोझो नभएकाले सोचेर निर्णय गर्ने बताए । ‘सर्वोच्च अदालतको फैसलापछिको बाटो त्यति सोझो छैन । कांग्रेसले विचार गरेर कसरी अगाडि बढ्ने भनी छलफल गर्छ,’ पौडेलले इकागजसँग भने, ‘बाटो सोझो नभएकाले कांग्रेसले अलिकति सोच्नु पर्नेछ । हामीले सोचेर निर्णय गर्छौ ।’

प्रतिनिधि सभा बैठक बुधबार बोलाइएको छ । त्यो बैठकसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीलाई विश्वासको मत लिन ३० दिनको समय संसद्ले दिएपछि दलहरूसँग सत्ता सहकार्यका लागि छलफल अघि बढाइने साउदले बताए । ‘विश्वासको मत लिन ३० दिन लाग्छ । विश्वासको मत लिने बेलामा कांग्रेसले दलीय छलफल गर्छ र आफूलाई फाइदा कसरी हुन्छ, त्यसैगरी संसदीय दल र केन्द्रीय कार्यसमिति बैठक बसेर निर्णय गर्छ,’ साउदले भने । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x