राजनीति

कांग्रेस केन्द्रीय समितिका एजेण्डा

महाधिवेशन, केन्द्रीय कार्यसमिति र आन्दोलन

मधुसुधन भट्टराई |
फागुन ४, २०७७ मंगलबार १६:५३ बजे

काठमाडौं : नेपाली कांग्रेसको बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी तीन एजेण्डामा छलफल हुने भएको छ । प्रतिनिधि सभा विघटनका विषयमा पार्टीले गरेको तेस्रो चरणको आन्दोलनको समिक्षा, पार्टीको १४ औं महाधिवेशनको मिति परिवर्तन र केन्द्रीय कार्यसमितिको म्याद थपका विषयमा बैठकमा छलफल हुनेछ ।
 
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आनदोलनको समिक्षा र १४ औं महाधिवेशनको मितिबारे छलफल गर्ने बैठकको मुख्य एजेण्डा रहेको जानकारी दिए । ‘फागुन ७ गतेदेखि पार्टीको १४ औं महाधिवेशन निर्धारित थियो । त्यो समयमा माहाधिवेशन हुन नसकेपछि कसरी अगाडि बढ्ने भन्‍ने विषयमा मुख्य छलफल हुन्छ,’ प्रवक्ता शर्माले इकागजसँग भने, ‘त्योसँगै प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले गरेको तेस्रो चरणको आन्दोलनको समिक्षा गर्ने एजेण्डा छ ।’
 
कांग्रेसले १४ औं महाधिवेशनको मिति शुक्रबार(फागुन (७-१०) मा १४ औं महाधिवेशनको मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिड-१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम हुन नसकेकाले महाधिवेशन असम्भव भएपछि महाधिवेशनको मिति सार्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
 
देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद यही फागुन १९ गतेसम्म मात्रै छ । केन्द्रीय कार्यसमितिको म्याद थपका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताए । देउवाको ४ वर्षे कार्यकाल २०७६ फागुन १९ मा नै सकिन्थ्यो । तर, विधानमा रहेको केन्द्रीय कार्यसमितिको बहुमतबाट एक वर्ष म्याद थप्न सक्ने प्रावधानमा टेकेर यही फागुन १९ सम्म पुर्‍याइएको थियो । अब थप्‍ने केन्द्रीय कार्यसमितिको म्याद पार्टी विधानअन्तर्गत नभई संविधानमा भएको विशेष परिस्थिति उत्पन्‍न भएमा थप्‍न सक्ने प्रावधानमा टेकेर थपिने छ । 
 
नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्‍न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्‍न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्‍ने उल्लेख छ ।

यो प्रावधानमा टेकेर कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना अर्थात आगामी भदौ १९ गतेसम्मका लागि थप्‍न सक्छ । त्यो समयसम्म पनि कांग्रेसले पार्टीको १४ औं महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता समाप्त हुन्छ । 


त्यस्तै बैठकमा पार्टीले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले गरेको तेस्रो चरणको आन्दोलनको समिक्षा पनि बैठकमा हुने प्रवक्ता शर्माले बताए ।
  
केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले महाधिवेशनबारे छलफल हुने बताए । ‘प्रतिनिधि सभा विघटनविरुध्द अब कसरी अगाडि बढ्ने र महाधिवेशन तयारी बैठकका मुख्य एजेण्डा हुन्छन्,’ डा. रिजालले भने । 

केही समयअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेको सुनिल थापा नेतृत्वको समूह, अखण्ड नेपाल पार्टी र नेकपाबाट प्रवेश गरेकालाई कसरी संगठनमा समायोजन गर्ने भन्नेबारेमा बैठकमा छलफल गर्ने तयारी छ । कांग्रेसले अन्य पार्टीबाट आएकाहरूलाई पार्टी संगठनमा कसरी समायोजन गर्ने भन्नेबारेमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको छ । समितिका तर्फबाट संयोजक निधिले प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी छ । 
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x