राजनीति

प्रतिनिधि सभा विघटन

आन्देलन गर्ने/नगर्ने विषयमा कांग्रेस बैठकमा चर्काचर्की

देउवा भन्‍छन् : बेला भएको छैन,  पौडेल भन्‍छन् : तत्काल गर्नुपर्छ

मधुसुधन भट्टराई |
पुस ८, २०७७ बुधबार १९:४९ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिनिधि सभा विघटनको विरोधमा तत्काल आन्दोलन गर्ने कि नगर्ने भन्‍ने विषयमा विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच आन्दोलनका विषयमा विवाद भएको हो ।
 
बैठकमा मंगलबार नै धारणा राख्दै पौडेलले तत्काल देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने बताएका थिए । र बुधबार पनि पौडेलले त्यही धारणा राखेपछि सभापति देउवाले आन्दोलन गर्ने बेला नभएको बताएका थिए ।

‘आन्दोलन गर्ने बेला भएको छैन । सर्वोच्च अदालतको फैसला आएको छैन । निर्वाचन आयोगले पार्टीलाई आधिकारिकता दिएको छैन । त्यो नहुँदै नेकपा औपचारिक रूपमा फुटेको हुन्‍न,’ देउवाको भनाइ उध्रित गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले इकागजसँग भने, ‘हामीले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भनेकै छौं । भन्दै जाने हो, अहिल्यै आन्दोलन गर्न हुँदैन ।’ देउवाले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गर्दै आएको कार्यक्रमलाई आन्दोलनका रूपमा मनाउन प्रस्ताव गरे ।


त्यसको विरोध गर्दै पौडेलले मेलमिलापको दिनलाई कसरी आन्दोलनका रूपमा मनाउन सकिन्छ भन्‍ने प्रश्‍न गरे । ‘मेलमिलाप दिवसका दिन आन्दोलन हुदैन । त्योभन्दा अगाडि देशव्यापी आन्दोलनको कार्यक्रम राख्नुपर्छ । राजनीतिमा विपक्षीको ‘स्पेस’ सडक हो, त्यो सडकको स्पेस पनि अरुले ओगटेपछि हामी कहाँ उभिने ?’ पौडेलले भने । 

त्यत्तिकैमा सहमहामन्त्री प्रकाशशरण महतले सभापति बोल्दाबोल्दै किन काटेको भनेर पौडेललाई  भने । सभापतिले बोलिसकेपछि मात्रै धारणा राख्‍न महतले निर्देशनको शैलीमा पौडेललाई भने । बाझाबाझ चल्ने देखिएपछि महामन्त्री पूर्णबहादुर खड्काले अर्को कोठमा गई कुरा गरेर मिलाउन आग्रह गरे । ‘बाहिर हलमा कुरा गर्नुभन्दा नेताहरू भित्र बसेर कुरा गरेर मिलाउनुस् ।,’ महामन्त्री खड्काले भने । 

त्यत्तिकैमा केन्द्रीय सदस्य शंकर भण्डारीले नेता पौडेलको कुरा काट्दै ठूलो स्वरमा तत्काल आन्दोलन नहुने बताए । ‘के को आन्दोलन अहिले ? अदालतको फैसला नआईकन आन्दोलन ?,’ कडा स्वरमा भण्डारीले भने । 

भण्डारीले पौडेललाई हप्काएको स्वरमा आन्दोलन हुदैन भनेपछि अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पौडेलले उठाएको कुरा ठीक भएको बताए । ‘रामचन्द्र दाइले उठाएको विषय जायज हो । मेलमिलापको दिन हामी राष्ट्रिय एकता र मेलमिलापका कुरा गर्छौ । त्यस दिनलाई हामी आन्दोलनका रूपमा कसरी मनाउन सक्छौ,’ भण्डारीको प्रतिवाद गर्दै घिमिरेले भने । 

जवाफमा भण्डारीले घिमिरेलाई ‘तपाई बढी नबोल्नुस’ भने । 

त्यसको जवाफमा घिमिरेले ‘ठूलो स्वर हुँदैमा तपाई जे पायो त्यही नबोल्नुस्, सिकाउने तपाई को’ भन्ने प्रश्न गरे । 

दुई सदस्यको बाझाबाझ ५ मिनेटजति चलेपछि सभापति देउवाले बसेर सल्लाह गर्न निर्देशन दिए । 

बुधबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले मध्यावधि निर्वाचन कांग्रेसका लागि ठीक भएको बताए । ‘मध्यावधि निर्वचन कांग्रेसका लागि ठीक हो । हामीले पहिलो प्राथमिकता निर्वाचनको तयारीलाई दिनुपर्छ, अन्या विषयहरुलाई भन्दा,’ ढुंगानाले बैठकमा भनेका थिए । 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरू डा. रामशरण महत, गगन थापा र बलबहादुर केसीले बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको मिति चुनावका लागि आन्दोलन मत्थर पार्नका लागि भएको बताएका थिए । 

मुलुक निरंकुशताको बटोतर्फ अग्रसर भएको र संविधानमै नभएको बाटोमा प्रधानमन्त्री प्रवेश गर्दै हुँदै नभएको अधिकार प्रयोग गरेका आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x