राजनीति

टिप्पणी

३१ वर्षपछि एमालेसँग माधव नेपालको डिभोर्स

पुष्पराज आचार्य |
भदौ ९, २०७८ बुधबार ११:२० बजे

ग्राफिक्समा प्रयोग भएको तस्बिर मेरो न्यूजकी फोटो पत्रकार जुली गिरीले लिएकी हुन्

काठमाडौँ- एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आन्तरिक शक्ति संघर्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सारेर ओली नेतृत्वको सरकारविरुद्ध विषवमन गर्ने नेताहरू पुनः ओलीकै नेतृत्वमा च्यासलस्थिति तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा स्थायी समिति बैठकमा सहभागी भए । सर्वोच्च अदालतको असार २८ को फैसलाले प्रधानमन्त्री ओली बर्खास्त हुनु अघिल्लो साँझको १० बुँदेको बटमलाइनसहित कार्यविभाजन लिएर अध्यक्ष ओलीसँग सुन्दर तस्बिर खिचाएर फर्केका नेताहरूसँग आधारभूत प्रश्नको जवाफ दिने हैसियत छैन ।

समाजवादको व्याख्या गरेजस्तो जसले जसरी पनि व्याख्या गर्न मिल्ने १० बुँदेले के ओलीले दुई पटक गरेको प्रतिनिधि सभा विघटन गलत थियो भन्छ ? पार्टीभित्रको विधि, पद्धति उल्लंघन गरेर ओलीले त्याग, संघर्ष र पार्टी निर्माणमा काम गरेका नेताहरूलाई पन्छाएर जसरी चाकरहरूलाई अघि सारे, त्यसको समाधान दिन्छ ? एमालेभित्रको अन्तरविरोधको मुख्य कारण पार्टीमा योगदानको कदर नहुनु, संविधानमाथि आक्रमण, भ्रष्टाचार थिए भनेर हिजो नेपाल समूहमा रहेका नेताहरूले दिएको सार्वजनिक अभिव्यक्तिले उनीहरूलाई भोलि पनि गिज्याइरहन्छ, जबसम्म उनीहरूले चित्तबुझ्दो जवाफ दिने छैनन् ।


पार्टीका विधि र संरचनालाई भत्काएकोमा नै अन्तर्विरोध भएर नवौं महाधिवेशनबाट बनेका उपाध्यक्षहरू भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई तथा भीम आचार्य, महासचिव पराजित सुरेन्द्र पाण्डे तथा उपमहासचिव पराजित रघुजी पन्त अनि तत्कालीन नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका अमृत बोहोराहरू अलग समूहमा देखिएका थिए । 

संस्थापन या मूलपार्टी जेसुकै भनेपनि यो ओलीसँग उनीहरूको ‘कम्प्रोमाइज’ नै हो । यसले उनीहरूको राजनीतिक भविष्यलाई नै अन्यौलमा धकेलेको छ । अहिले उनीहरूमाथि नेपाललाई अघि सारेर ओलीसँग ‘च्याँखे दाउ थापेको’ आरोप लागिरहेको छ । त्यसो त एमालेको दशौं महाधिवेशन गराउनुपर्ने समयमा पार्टीलाई विभाजनमा धकेलेकोमा ओली निष्कलंक रहन सक्दैनन् । सरकारमा छँदा संविधान मास्‍न खोज्‍ने, प्रतिनिधि सभा मास्‍ने धृष्टता गर्ने उनलाई पार्टी मासेको कलंक पनि थपिएको छ । पार्टीको अध्यक्ष बनेपछि ओलीले आफ्नो स्वीकार्यता बढाउनुपर्ने र सबैलाई स्थान दिएर पार्टी सञ्चालन गर्नुपर्नेमा पार्टीलाई विशुद्ध गुटको रूपमा चलाउन खोजे, त्यसैको विस्फोट हो- नेकपा एकीकृत समाजवादीको स्थापना ।

२०७१ असारमा सम्पन्‍न एमालेको नवौं महाधिवेशनमा ओलीले नेपालभन्दा ४४ मत बढी कुल १,०४७ मत प्राप्त गरेका थिए । नेपाल र ओली प्यानल नै बनाएर निर्वाचन लडेका थिए भने महाधिवेशनबाट मिश्रित परिणाम आएको थियो । 

यो प्रसङ्ग उल्लेख गर्नुको कारण के हो भने सर्वोच्च अदालतको आदेशले ब्युँतिएको नेकपा एमालेको अध्यक्षता गर्दै ओली आफ्नो कार्यकालको अन्त्यमा छन् । महाधिवेशन गर्नुपर्ने समयमा तत्कालीन माओवादी केन्द्रसँग गरेको एकता अनि त्यसको झण्डै तीन वर्षपछि गत वर्ष फागुन २३ मा सर्वोच्च अदालतले पुनः पुरानै पार्टीहरू ब्युँताइदिए पनि उनले निकट भविष्यमा पार्टीको महाधिवेशन गराउनुपर्नेछ ।

एमाले २०४७ पुसमा एमाले बनेदेखि नेपाल शीर्ष नेतृत्वमा थिए । र, नेपालले २०५० पछि १४ वर्ष पार्टी महासचिव भएर एमाले हाँकेका थिए । एमाले गठन हुनुअघि नेपाल माले पार्टी निर्माणका एक हस्ति हुन् । संयोग २०५४ मा महाकाली सन्धिका कारण एमाले फुट्दा ओली-नेपाल एकातिर थिए, वामदेवले मालेको कमाण्ड सम्हालेका थिए । आज वामदेव छेपारोजस्तो यता र उता गरिरहेका छन् । एमाले र माओवादी मिलाएर बनाएको नेपाल कम्युनिस्ट पार्टीमा विग्रह उत्कर्षमा पुग्‍न'मा वामदेव गौतमको उछलकुदलाई पनि एउटा प्रमुख कारणका रूपमा हेरिएको छ ।

हिजो माधव नेपालले डेढ दशक पार्टीको नेतृत्व सम्हाल्दा ओली निर्वाध गुटगत गतिविधि गरिरहेकै थिए । त्यसलाई नेपालले चाहेर पनि रोक्न सकेका थिएनन् । यसमा वर्तमान राष्ट्रपति एवं तत्कालीन एमाले नेतृ विद्यादेवी भण्डारीले संयोजन गरेकी थिइन्, मदन भण्डारी फाउण्डेसनको नाममा पार्टीको तल्लो तहसम्म ओली र माधव गुटमा पार्टी विभक्त नै थियो । अध्यक्ष बनेपनि नेपालसँग झिनो मतान्तरले विजयी भएका ओलीले नेपालप्रति दूराग्रह राख्‍न छाडेनन् । हिजो उनी गुटगत गतिविधि गर्न स्वतन्त्र थिए, प्रधानमन्त्री बनेपछि अग्लो आसन अरुभन्दा पृथक देखिने चाहना, राजतन्त्रकालीन शैलीको मानमनितो खोज्‍ने ओली पार्टीभित्र नेपाललाई पेल्ने रणनीतिमा लागिरहे ।

पूर्व प्रधानमन्त्रीसमेत रही सकेका नेपाललाई अपमान गर्न ओलीले कुनै कसर बाँकी राखेनन् । बुझ्‍नेहरू भन्छन्- ओली र भण्डारीले नेपालसँग पुरानो तुष पोखेका हुन् । २०५१ मा एमालेको सरकारमा भण्डारीलाई मन्त्री बनाउनुपर्छ भन्‍ने ओलीलगायतका नेताहरूको माग थियो । त्यसमा नेपालले पार्टीभित्र लागू गरिएको मापदण्ड व्यक्ति विशेषका लागि भत्काउन सकिदैँन, ‘राज्यमन्त्री’ बनाउन सकिन्छ भनेका थिए । त्यही तुषको उपज राष्ट्रपति छँदा पनि भण्डारीले नेपालको अपमान गर्ने क्रम कायमै राखिन् । ओलीले त आफू प्रधानमन्त्री छँदा ललिता निवास जग्गा प्रकरणमा अख्तियार नै लगाइदिनेसम्मको धम्कीसमेत दिएको जानकारहरू बताउँछन् ।

एमाले निर्माण गर्ने, संगठन गर्ने, विधि, पद्धति र मापदण्डमा चल्न खोज्‍ने नेता नेपालले हिजो विद्या भण्डारीलाई मन्त्री दिन अस्वीकार गर्दा पार्टीभित्र रोपिएको गुटगत राजनीतिक जालका कारण आज नयाँ पार्टी दर्ता गर्ने स्थितिसम्म उनलाई ल्याइपुर्‍यायो, जहाँ नेपाललाई पार्टी पुनर्गठन गर्न सकिन्छ भन्‍ने दह्रो हिम्मत भएका राजनीतिक विचार, आस्था र मुद्दाप्रति प्रतिवद्ध रामकुमारी झाँक्रीजस्ता योद्धाहरूको साथ छ ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x