राजनीति

मुलुककाे सुशासन र समृद्धिकालागि सत्ता समीकरण परिवर्तन गर्नुपर्‍ याे : प्रधानमन्त्री

इकागज |
बैशाख ४, २०८१ मंगलबार १६:२२ बजे

काठमाडाैँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासन र समृद्धिका साथै राष्ट्रको हितका लागि सत्ता समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पुरानै अवस्थामा रहेर परिवर्तन असम्भव देखिएको भन्दै राष्ट्रको आवश्यकताका आधारमा सुशासन र समृद्धिका लागि सत्ता समीकरण परिवर्तन गर्नुपरेको बताएका हुन् ।​


उनले १५ महिनामा तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनुलाई विडम्बना वा नेपालको विशेषता भन्न सकिने जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले तीन पटक समीकरण फेरिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार फेरिएको नभई पुनर्गठन मात्रै गरिएको बताए । ​

उनले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले  भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेको उनले बताए । उनले सेवा प्रवाहलाई छिटो, छरितो, प्रविधिमैत्री बनाउने, चालु खर्चमा मितव्ययिता कायम गर्ने, तोकिएको काम तोकिएकै समयसीमा र गुणस्तरमा सम्पन्न गर्ने जस्ता मापदण्डहरू कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको धारणा राखे । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले मुलुकमा लगानी भित्र्याउनका लागि लगानी सम्मेलन अगाडि नै अध्यादेशबाट भएपनि आवश्यक कानुन सुधार गर्ने स्पष्ट पारे । निजी क्षेत्रको बिकास नभई मुलुकको बिकास र समृद्धिको औचित्य नहुने उनले बताए । 

 प्रधानमन्त्री प्रचण्डले विकास आयोजनाहरूको प्राथमिकीकरणसहित पर्याप्त साधन स्रोतको व्यवस्था, निर्धारित समयसीमा र गुणस्तरमा आयोजनाहरूले पूर्णता पाउनुपर्ने बताए । 


Author

थप समाचार
x