राजनीति

२०८० को राजनीतिलाई फर्केर हेर्दा

जीवन कुँवर |
चैत ३०, २०८० शुक्रबार १९:४८ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कै भाषा सापटी लिएर भन्‍ने हो भने २०८० साल नेपाली राजनीतिमा निकै 'उथलपुथल' भयो । २०८० वैशाखमा उपनिर्वाचन भयो । त्यस्तै व्यापारीसँग २ करोड रुपैयाँ मागेपछि ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद्‌मै लुगा खोले । बोल्न नपाएको विरोधमा संसद्‌ बैठक चलिरहेको बेला उनले लुगा खोलेर विरोध गरेको घटना नेपालको संसदीय इतिहासमा पहिलो घटना हो । 


त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाण पक्राउ परे । त्यस्तै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परे ।

समग्रमा अघिल्ला वर्षहरूझैँ २०८० मा पनि राजनीति रूपमा सफल हुन सकेन । राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्रदेशसम्म पर्‍यो ।

वैशाख १० को उपनिर्वाचन
२०८० वैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ-२ मा उपनिर्वाचन भयो । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछाने निर्वाचित भए । त्यस्तै बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । त्यस्तै तनहुँ-२ मा रास्वपाकै डा. स्वर्णिम वाग्ले निर्वाचित भए । वाग्ले कांग्रेस त्यागेर रास्वपा गएका थिए ।

तनहुँमा उपनिर्वाचनका लागि कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा थिए । 

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज
रास्वपाका ढाकाकुमार श्रेष्ठको सांसद पद वैशाख १२ गते खारेज भएको थियो । सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी संसद्‌मा गराएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताएका थिए । 

मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

संसदीय दलको नेतामा रवि लामिछाने
२०८० वैशाख १८ गते रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका थिए । १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि लामिछानेलाई संसदीय दलको बैठकले दलको नेता चयन गरेको थियो ।

लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन
वैशाख १९ गते नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका थिए ।

उनीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको र प्रहरीको फरार सूचीमा कोइरी रहेका थिए । 

सरकारलाई दिएको समर्थन फिर्ता
वैशाख २२ गते रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिएका थिए ।

१०औँ पटक मन्त्रिपरिषद् विस्तार
वैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन पटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा तीन पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको थियो ।

संसद् बैठकमै अमरेशकुमार सिंहले लुगा खोले
वैशाख २५ गते स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्‌मा कपडा खोलेर प्रदर्शन गरेका थिए । सुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय नपाएपछि कपडा खोलेर प्रदर्शन गरेका थिए ।

सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाएका थिए । 

सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लील, अपमानजनक व्यवहार नगर्न अनुरोध गरेका थिए भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरेका थिए । नेपाली संसदीय इतिहासमा यो पहिलो घटना हो ।

बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ
वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए । खाणसँगै स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए । 

सात महिनाको जेल बसाइपछि खाण गत मंसिर २८ गते उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका थिए । उनी रिहा भए पनि उनको राजनीतिक जीवनमा दाग भने लागिरह्यो ।

त्यस्तै सोही प्रकरणमा वैशाख ३१ गते नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परे । उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताएका थिए । 

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने वैशाख २० गते नै पक्राउ गरेको थियो । रायमाझी केन्द्रीय कारागारमा कैद छन् । माओवादी छाडेर एमालेमा गएका रायमाझीको राजनीतिक भविष्य नक्कली भुटानी शरणार्थीसँगै सकिएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएको राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएकै बेला पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परे । साथै महराका छोरा राहुल पनि यसअघि नै सुन तस्करी प्रकरणमा पक्राउ परिसकेका थिए । 

माओवादीभित्र  प्रचण्ड र महराको सम्बन्ध उति बलियो थियो भन्ने विषय तत्कालीन धोविघाट बैठकदेखि सबैले बुझेका थिए । अहिले प्रचण्ड प्रचण्ड हुनुमा माओवादीभित्र सबै ठूलो हात महरा कै छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादीभित्र अन्तरसंघर्ष चुलिन थाल्यो । तत्कालीन माओवादीभित्र प्रचण्ड एकातिर, मोहन वैद्य किरण अर्कोतिर, डाक्टर बाबुराम भट्टराई, नेत्रविक्रम चन्द 'विप्लव', पम्फा भुसालहरू अर्कोतिर थिए । 

तत्कालीन धोविघाट बैठक माओवादीभित्र चर्चित बैठक हो । जहाँ प्रचण्डलाई एक्ल्याउन सबै एकजुट थिए । सबै गुटहरू मिलेर प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्ने बैठक थियो । जहाँ कृष्णबहादुर महरा निर्णायक भूमिकामा थिए । महराले पनि साथ दिनेमा ढुक्क थिए । तर, लगत्तै खरीपाटीको एउटा बैठकमा गएर बोल्दा महराले प्रचण्डको समर्थनमा आफ्नो धारणा राखे । त्यसपछि प्रचण्डविरुद्धको मोर्चाबन्दी तुहिएको थियो । त्यसपछि प्रचण्डको सारथी बनेका महरा निरन्तर सत्तामा भइरहे ।

सुन तस्करी प्रकरणमा महरा, राहुलसँगै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र जितेन्द्र पुन पनि अछुत रहन सकेनन् । दिपेश पक्राउ परिसकेका छन् भने जितेन्द्र हाल अमेरिका रहेका छन् । 

पक्राउ परेका महरा भने बिरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए । नियमित औषधि सेवन गरिरहेका महरालाई हाजिर‍ जमानीमा छाडेपछि गृहमन्त्री रवि लामिछानेले सरकारसँग 'करुणा' भएको सार्वजनिक कार्यक्रममा बताएका थिए । महराका छोरा राहुलमाथि भने छानबिन भइरहेको छ ।

राजा फर्काउन लागेका प्रसाईं
त्यसो त राजा फर्काउने अभियानसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गरे । उक्त आन्दोलनमा देशभरबाट प्रसाईंले काठमाडौँमा जनता उतारेका थिए । मिटरब्याजी, सहकारी र लघुवित्तबाट पीडितहरू ऋण मुक्त हुने आशमा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा होमिएका थिए ।

उक्त कार्यक्रममा पीडितले ऋण तिर्न नपर्ने र कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराउने भन्दै प्रचार गरे पनि शाह कार्यक्रममा सहभागी नभएपछि प्रसाईंले उल्टै विरोध गरेका थिए ।

सत्ता समीकरण फेरिनुको कारण
यो वर्ष सरकार समीकरण फेरबदल भयो । फागुन २१ गते नेपाली कांग्रेस र माओवादीको गठबन्धन फुटेसँग सत्ता समीकरण फेरबदल भएको थियो । अहिले एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी सरकारमा छन् । 

कांग्रेससँग सत्ता साझेदार टुट्‌नुमा विविध कारणहरू रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा धोका दिएको माओवादीको बुझाइ छ । कोशीको चुनावमा गठबन्धन भएको थियो । उक्त चुनावमा गठबन्धनका कांग्रेसका उम्मेदवार कृष्ण सिटौला विजय भए भने गठबन्धनकै माओवादी उम्मेदवार चम्पादेवी कार्कीले हारिन् । कार्कीसँग चुनाव लडेकी एमालेकी रूकमणी कोइरालाले जितेकी थिइन् ।

त्यसो त कोशी प्रदेशमा आफ्‍नो भागमा आएको मुख्यमन्त्री गुम्नुमा पनि कांग्रेसभित्र गुटको खेल भएको प्रचण्डले सार्वजनिक रूपमै बताउँदै आएका छन् । कोशीमा एकातिर सभामुख गुम्नु र अर्कोतिर कांग्रेसकै गुटको सिकारले मुख्यमन्त्री पनि गुम्नुले कांग्रेसप्रति अविश्वास बढाउनु अर्को कारण हो ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले विवादित मन्त्री हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दै आएको देउवाले मन्त्रिपरिषद्‌ हेरफेरमा असहयोग गरेको बताएका थिए । तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत टेरामक्स प्रकरणमा मुछिएको र मन्त्रीको झण्डावाला गाडीमा अख्तियारमा बयान दिन गएपछि उनलाई चाहे पनि देउवाले सहयोग नगरेको प्रचण्डले भन्ने गरेका छन् । 

त्यस्तै विवादित मन्त्रीहरू प्रकाशशरण महत, प्रकाश ज्वाला र सुदन किरातीलगायतलाई फेर्न चाहन्थे । सडक र सदन विपक्षीहरूले विवादित मन्त्रीहरू हटाउनुपर्ने माग राख्दै चर्काउन थालेपछि प्रचण्ड थप दबाबमा थिए । सत्ता साझेदारी देउवाले सहयोग नगरेका कारण मन्त्रिपरिषद्‌ फेर्न नसकेको प्रचण्डले आफू निकटकाहरूलाई बताउँदै आएका थिए ।

त्यसो त कांग्रेस सभापति देउवासँग मात्रै प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिएनन् । कांग्रेसकै अर्को गुट डा. शेखर कोइराला र गगन थापाहरूसँग पनि प्रचण्ड असन्तुष्ट थिए । उक्त समूहले कोशी प्रदेश सरकार गठनमा होस् या सदन/सडकमा पनि सरकारकै आलोचना गर्ने गरेको प्रचण्डको बुझाइ थियो ।

त्यस्तै केही महिनाअघिदेखि नै अर्थमन्त्री प्रकाशशरण महतलाई फेर्न चाहन्थे प्रचण्ड । बजेट र आर्थिक नीति बनाउँदा सल्लाह नगरी जथाभावी गर्ने गरेको प्रचण्डले देउवालाई गुनासो गर्ने गरेका थिए । तर, अर्थमन्त्री महतलाई फेर्न चाहेनन् देउवाले । त्यसपछि झन् देउवा-प्रचण्डको सम्बन्धमा फाटो आउन थाल्यो ।

कांग्रेस महासमिति बैठकमा बहालवाला मन्त्रीहरूकै प्रतिवेदनबाट प्रचण्ड चरम असन्तुष्ट बनेका थिए । आफ्नै नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्धलाई गलत व्याख्या गरेको प्रचण्डले आफू निकटकाहरूलाई भन्दै आएका थिए । बहालवाला मन्त्री पूर्णबहादुर खड्‌काले पेस गरेको प्रतिवेदनमा माओवादीको जनयुद्धका कारण पनि अहिले आर्थिक संकट आउनु उल्लेख गरेका थिए । यस विषयमा प्रचण्डले देउवा र खड्‌कालाई बालुवाटार बोलाएरै सोधेका थिए । 

त्यस्तै कांग्रेस महासमिति बैठकमा कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको विषय पनि उल्लेख थियो । यसमा पनि देउवाको हात हुन सक्ने प्रचण्डले बताउँदै आएका थिए । कर्मचारी सरुवा बढुवामा समेत हस्तक्षेप गर्ने गरेको प्रचण्डले यसअघि नै गुनासो गर्दै आएका थिए ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x