राजनीति

बालसुधार गृहमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई समितिको निर्देशन

इकागज |
चैत २३, २०८० शुक्रबार १४:४५ बजे

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बालसुधार गृहहरूमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।


समितिले बालसुधार गृहमा रहेकालाई खुवाउने खानाको गुणस्तर निकै कमजोर रहेको र सफा खानेपानीको पनि अभाव देखिएकाले यसमा विशेष ध्यान दिन समेत सुझाव दिएको समिति सभापति किरणकुमार साहले जानकारी दिए ।

केही सुधार गृहहरू सेवामूलकभन्दा पनि नाफामूलक देखिएकाले संस्थाले नाफामूलक तवरले चलाएका सुधार गृहको अनुगमन गरि सुधार गर्न समेत निर्देशन दिएको उनले बताए ।

बैठकमा समिति सदस्यहरूले बालसुधार गृहमा रहेका बालबालिकाको अधिकारमाथि खेलवाड भइरहेको बताएका थिए । समिति सदस्य विन्दबासिनी कंशाकारले बालसुधार गृहको निरन्तर अनुगमन गरेर उनीहरूको समस्या समाधान गर्नुपर्ने बताइन् ।

त्यस्तै समिति सदस्य रोशन कार्कीले बालसुधार गृहहरूमा रहेकाले पढ्न चाहे त्यसको व्यवस्था गर्नुपर्ने बताइन् ।

बैठकमा गृहमन्त्रालयका प्रतिनिधिहरूले स्थान अभावका कारण बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी राख्नुपरेकाले नुवाकोट, मोरङ लगायतका स्थानमा थप सुधारगृह निर्माण प्रक्रिया सुरु गरिएको जनाएका थिए । 


Author

थप समाचार
x