राजनीति

प्रतिनिधि सभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज |
चैत २०, २०८० मंगलबार १६:३६ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत नभएको र बिम्स्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका हुन् ।


दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन नसकिएको अवस्थामा सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने उनले बताए । उनले आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने नीति सरकारको रहेको धारणा राखे ।

श्रेष्ठले सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिए । उनले संसदबाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए ।

बैठकमा सांसदहरूले बिम्स्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने धारणा राखेका थिए । छलफलपछि बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । 


Author

थप समाचार
x