राजनीति

समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यक : मन्त्री शर्मा

इकागज |
चैत १३, २०८० मंगलबार २१:५५ बजे

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजवाद निर्माणका लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन् ।

समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका–१७ र १८ को संयुक्त वडा भेलालाई आज सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गरिन् । उनले भनिन्, 'देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ ।'


सरकारका प्रवक्तासमेत रहेका शर्माले वर्तमान सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने जानकारी दिइन् । उनले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्नेमा जोड दिइन् ।

उनले भनिन्, 'समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो छ ।'

भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उनले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई माओवादी पार्टीले प्राथमिकतामा राखेकाले बताइन् ।


Author

थप समाचार
x