राजनीति

सुन प्रकरण

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

इकागज |
चैत ५, २०८० सोमबार १७:५९ बजे

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । पक्राउ गरेपछि सीआईबीले महरालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । सरकारी वकिलको कार्यालयले ७ दिन म्यादको अनुमति माग गरे पनि अदालतले चार दिनको म्याद दिएको हो ।


प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको थियो । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख समेत रहेका महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् । 

 

 


Author

थप समाचार
x