राजनीति

जोगिएला त माओवादी नेतृत्वको सुदूरपश्‍चिम सरकार ? यस्तो छ अंकगणित

नवराज पनेरु |
जेठ २४, २०७८ सोमबार १८:१५ बजे

धनगढी : माओवादी केन्द्रले नेतृत्व गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकार जोगाउन र हटाउन कसरत सुरु भएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको एक पक्ष (माधव नेपाल समूह) ले सरकार जोगाउन र अर्को पक्ष (केपी शर्मा ओली समूह) ले सरकार गिराउन कसरत सुरु गरेका हुन् ।

सत्तापक्षसमेत रहेको एमाले (ओली समूह) का सासंदले संसदमै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । त्यसपछि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन् । पत्र दर्तापछि सोमबार कार्य व्यवस्था समितीको बैठक बसेको थियो । मुख्यमन्त्री भट्ट भोलि ९ बजे हुने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारीमा छन् । 


प्रदेशको सबैभन्दा ठूलो दल एमाले विभाजित भएको अवस्थामा पनि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने सम्भावना भने बलियो छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टलाई वर्तमान सरकार टिकाउन २७ जना प्रदेश सासंदले साथ दिनुपर्ने हुन्छ । एमालेका २५ मध्ये केपी ओली पक्षमा ६ जना मात्रै स्पष्ट खुलेका छन् । माधवकुमार नेपाल पक्षका सासंदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने तयारीमा छन् ।

'वर्तमान सरकारमा एमालेका चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैन्,’ एमालेका एक सासंदले भने । माधव पक्षले साथ दिए माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार जोगिनेछ । प्रदेश सभामा एमालेबाहेक माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।

यसअघि एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गर्दै मन्त्रिमण्डल विस्ता गरेको थियो । यस्तै प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने सम्भावना छ ।

काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले विश्वासको मत दिने वा नदिने कुनै निर्णय नभएको बताए । ‘आज दुई पटक प्रदेश सभा बैठकमै व्यस्त भइयो,’ उनले भने, ‘भोलि विहान संसदीय दलको बैठक बोलाएका छौ । त्यसपछि मात्रै टुंगोमा पुग्छौ ।’

भट्टले मंगलबार विश्वासको मत लिने तयारी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि दौडधुप बढेको छ । उनले सोमबार नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलका क्रममा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिलाउने विषयमा कुराकानी गरेका छन् ।  


Author

थप समाचार
x