राजनीति

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ : अर्थमन्त्री महत

इकागज |
पुस १४, २०८० शनिबार १८:५९ बजे

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल रहेको बताएका छन् ।

नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले भने, 'महिलाहरू पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरू एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीर रूपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’


उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर निर्माण गरेका हुन् । सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा. महतले बताए ।

'साना किसान सहकारी स्थानीय तहमा केन्द्रित छ । आफैँ मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन,' मन्त्री डा. महतले भने ।

युवाहरू विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा. महतले भने ।

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ,  जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा. महतले बताए ।


Author

थप समाचार
x