राजनीति

कांग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति

इकागज |
पुस ५, २०८० बिहीबार १८:१९ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कांग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।​

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको आरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गरेका हुन् ।


महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेफ्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताए । उनले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रूपमा औंल्याएको दाबी गरे । उनले आफूले कानुनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानुन ठीक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्‍न गरे ।

उनले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचीबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनै पनि एयरलाइन्स नजाने बताए । उनले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताए । यता, इयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठीक रहेको भन्दै अडिट गर्न भने नगएको बताए ।

बैठकमा नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले क्यान, नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताए । उनले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताए । उनले क्यानका महानिर्देशक अधिकारीले युरोपियन युनियनले हवाई सेफ्टीको रिपोर्टको विषयमा झुटो बोलेको आरोप लगाए । उनले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरू भएको बताए ।

त्यस्तै बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचीबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरू उडान गरिरहेको बताए । उनले निगमले जनशक्ति, प्राविधिक र सिस्टमलाई पालना गरेको दाबी गरे । उनले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए/नभएको प्रमाणित गर्ने गरेको बताए ।

उनले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रूपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने प्रतिबद्धता जनाए । उनले दुई वटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताए ।

उनले नेपाल वायुसेवा निगमले इयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरू समेत पालना गर्दै आफ्ना जहाजहरू उडान गरिरहेको बताए ।  

 

 


Author

थप समाचार
x