राजनीति

शिक्षा विधेयकका सन्दर्भमा शिक्षक महासंघद्वारा एमाले सचेतक बर्तौलासँग भेट

इकागज |
असोज १८, २०८० बिहीबार १४:२५ बजे

काठमाडौँ– विद्यालय शिक्षा विधेयकका सन्दर्भमा नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न शिक्षक संगठनले नेकपा एमाले सचेतक महेश बर्तौलासँग भेट गरेका छन् । आज बिहीबार सचेतक बर्तौलासँग भेट गरेर महासंघका अध्यक्ष कमला तुलाधरले नेकपा एमालेले शिक्षा विधेयकमा भएका गलत प्रावधानहरू हटाउन संसदमा भूमिका खेलिदिन आग्रह गरिन् । 

नेपाल शिक्षक महासंघका अध्यक्ष तुलाधरसहित नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णु भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीलगायतको टोली नेकपा एमालेको संसदीय दलको कार्यालयमै पुगेर भेट तथा अनुरोध गरेको हो ।


शिक्षक महासंघका प्रतिनिधिहरूसँग बर्तौलाले शिक्षक र सरकारका बीचमा भएका मुख्य सम्झौताहरू कार्यान्वयनमा सरकार पक्षकै मुख्य भूमिका रहने, सरकारले भएका सम्झौताहरू विधेयक फिर्ता गरेरै विधेयकमा समावेश गरि पुनः दर्ता गर्नुपर्ने बताए । एमालेले शिक्षकका महत्वपूर्ण मुद्दा आफ्ना मुद्दाका रूपमा संसदमा उठाउने, संसाधन प्रस्ताव हाल्ने तथा सरकारलाई दबाब सिर्जना गरेरै कार्यान्वयनमा लैजान पहल गर्ने बर्तौलाले जिकिर गरे   

भदौ २७ मा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर असन्तुष्ट शिक्षकहरूले असोज ३ गतेबाट राजधानीकेन्द्रित आन्दोलन गरेका थिए । आन्दोलनरत शिक्षक र सरकारका बीचमा दुई चरणमा विभिन्न बुँदामा छलफल तथा सम्झौता भएपछि शिक्षकहरूले आन्दोलन फिर्ता लिइसकेका छन् ।

सरकारले संसदमा दर्ता भएको विधेयकमा शिक्षकका मागहरू समेट्ने प्रतिबद्धता जाहेरसमेत गरेको छ ।


Author

थप समाचार
x