राजनीति

चिनियाँ र नेपाली राजनीतिक दलबीच भर्चुअल बैठक

महामारीविरुद्ध लड्न चीनबाट थप सहयोगको आश

अजय अलौकिक |
जेठ १२, २०७८ बुधबार १६:३२ बजे

बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्‍न राजनीतिक पार्टीका शीर्ष नेताहरूबीच बुधबार दिउँसो भर्चुअल मिटिङ भएको छ । महामारीविरूद्ध एकजुट भएर लडौँ र मानिसको जीवन रक्षा गरौँ-महामारीविरूद्ध चीन नेपाल राजनीतिक पार्टीबीच संयुक्त सहकार्य अनलाइन मिटिङ शीर्षकमा उक्त मिटिङ भएको हो ।

सो मिटिङमा, सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले सहभागी नेपाली नेता तथा विज्ञलाई स्वागत गर्दै कोभिड महामारी तथा नियन्त्रण सम्बन्धमा चीनले गरेको प्रयासका साथै नेपाललाई सहयोग गर्ने विषयमा चर्चा गरे । उनले पार्टी महासचिव सी चिनफिङको नेतृत्वमा कोरोना महामारी (कोभिड-१९)लाई परास्त गर्नसकेको बताए । साथै उनले जनतालाई प्राथमिकता दिने, जनताको सुरक्षा र स्वास्थ्यलाई विशेष ध्यान दिने पार्टीको नीतिलाई अङ्गिकार गर्दै आएको बताए ।


उनले सहभागी नेताहरूलाई जनतालाई महत्व दिन पनि सुझाए । उनले भने, 'जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरे मात्र जनताको विश्वास जित्न सम्भव छ ।' साथै उनले नेपालमा महामारी नियन्त्रण गर्न चीन सरकारले स्वास्थ्य सामग्री सहयोग गर्दैआएको तथा आठ लाख खोप उपलब्ध गराएको भन्दै चिनियाँ पार्टीको तर्फबाट नेपाललाई सहयोगको घोषणा पनि गरे । उनले १०० वटा अक्सिजन कन्सनट्रेटर्स र ६ लाख एन मास्क सहयोग गर्ने बताए । 

सो भर्चुअल मिटिङमा सहभागी नेपाली राजनीतिक पार्टीका सबै नेताहरूले नेपालमा महामारीको चर्चा गर्दै स्वास्थ्य सामग्री तथा स्वास्थ्योपचार सुविधाको अभाव रहेको भन्दै चीनसँग थप सहयोगका लागि अपिल गरेका छन् । यसबाहेक सबै नेताले सिपिसीको शतवार्षिकीको अवसरमा शुभकामना व्यक्त गरे भने एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि जाहेर गरेका थिए ।

मिटिङमा सर्वप्रथम बोल्दै उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाललाई अहिले कोरोना महामारीको दोस्रो लहरले आक्रान्त पारेको बताए । आफ्नो सीमित स्वास्थ्य साधनका कारण अन्तरर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरेको बताउँदै चीनले गर्दैआएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथसाथै उनले प्रान्तीय सरकारलाई समेत सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । साइनोफर्मलाई विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएकोमा बधाई पनि दिए ।

यसबाहेक उनले सन् २०१९ को आफ्नो चीन भ्रमणको पनि सम्झना गरे ।  यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिपिसीको शतवार्षिकीको अवसरमा शुभकामनाका व्यक्त गर्दै चीनको दोस्रो शताब्दी लक्ष्य प्राप्तिको सफलताको कामना गरे । साथै उनले सन् २०१५ को भूकम्पमा चीनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हालको महामारीमा पनि चीनको सहयोग जारी रहने आशा राखे ।

अक्सिजनलगायत स्वास्थ्य साधनस्रोतको अभाव रहेको बताउँदै अहिले खोपको आवश्यकता भएकोले नेपाली जनता चिनियाँ खोपको आशामा रहेको पनि बताए । नेपाल र चीनबीच हजारौं वर्षदेखि सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले महामारीमात्रै होइन अर्थतन्त्रको विकासमा पनि चीनको सहयोग अपरिहार्य रहेको भन्दै सन् २०१७ मा आफू प्रधानमन्त्री रहँदा चीनसँग बेल्ट एण्ड रोडमा आबद्ध रहेको चर्चा गर्दै सहयोगको अपेक्षा गरे ।

यसैगरी, नेपाली काङ्गेसकातर्फबाट नेता नारायण खड्काले प्रतिनिधित्व गरेका थिए । उनले चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएदेखि र विशेषत सन् १९६० मा विपि कोइरालाको सरकारको समयमा चीनसँग पार्टी तथा देशबीको सम्बन्धको चर्चा गर्दै चीनको एक नीतिप्रति प्रतिबद्ध रहेको बताए । उनले पनि महामारीसँगै स्वास्थ्य सामग्रीको अभावले मृत्यु दर बढेको भन्दै कोरोना नियन्त्रण तथा जनधनको क्षति रोक्न चीनबाट सक्दो सहयोगको अपेक्षा गरे । साथै सिपिसीलाई स्वास्थ्य सहयोग उपलब्ध गराएकोमा धन्यवाद पनि व्यक्त गरे । 

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि आजको अवस्थासम्म चीनले समग्र क्षेत्रमा चौतर्फि प्रगति गरेको भन्दै पार्टीको तर्फबाट चीन र चिनियाँ जनतालाई शुभकामना व्यक्त गरे । उनले पञ्चशील सिद्धान्तको चर्चासँगै राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमणले दुई पक्षीय सम्बन्ध एक तह बढेको भन्दै नेपाल भूपरिवेष्ठितबाट भूजडित भएको बताए । साथै उनले चीनको महामारी नियन्त्रणका उपाय चीनबाट सिक्नु जरूरी रहेको भन्दै महामारीको युद्धमा चीनबाट थप सहयोगको आशा गरे ।

यसै गरी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेले नेपालका साथै विश्वका धेरै देशहरूमा महामारी फैलिरहेको अवस्थामा चीनले तदारूकताका साथ नेपाललाई सहयोग गरेको भन्दै चीन नेपालको मित्रवत् छिमेकी रहेको फेरि एक पटक प्रमाणित भएको बताए । उनले पनि सिपिसीको शतवार्षिकी अवसरमा शुभकामना व्यक्त गर्दै दोस्रो शताब्दी लक्ष्य प्राप्तिको शुभकामना व्यक्त गरे । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबराले सिपिसीको शतवार्षिकीको अवसरमा शुभकामना व्यक्त गर्दै पछिल्ला दशकहरूमा आर्थिक विकासको क्षेत्रमा सिपिसीको योगदान अतुलनीय रहेको बताए । साथै उनले महामारीलाई चीनले नियन्त्रण तथा रोकथाम गर्न सफल भएकोमा बधाई दिँदै नेपालमा स्वास्थ्य सामग्रीको अभाव रहेका चर्चा गरे । 

यसै गरी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि नेपालमा महामारीको अवस्थाबारे चर्चा गर्दै चिनियाँ सहयोग र चीन नेपाल सम्बन्धबीच चर्चा गरेका थिए । पहिलो सत्र सिपिसी अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्‍न राजनीतिक पार्टीका शीर्ष नेताहरूबीच भर्चुअल मिटिङ गरिएको थियो भने दोस्रो सत्रमा नेपाली तथा चिनियाँ चिकित्सकबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
 


Author

थप समाचार
x