राजनीति

मापदण्ड विपरीतका अस्पताललाई कारबाही हुन्छ : प्रदेश मन्त्री सिंह

सुभाष कर्ण |
साउन ६, २०८० शनिबार २०:१५ बजे

जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंहले अवैध तथा मापदण्ड विपरीतका निजी अस्पतालहरूलाई कारबाही गरिने बताएका छन् । 

शनिबार जनकपुरधामस्थित नवजीवन अस्पतालले सञ्चालन गरेको क्यान्सर रोग उपचार शाखाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेशकाे राजधानी जनकपुरधाममा स्वास्थ्य सेवा निकै कमजोर रहेको भनी यसको सुधारमा प्रदेश लागिपरेको बताए ।


उनले भने, 'स्वास्थ्य सेवाको कमजोर हुनुको प्रमुख कारण यहाँ अवैध तथा मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरू हुन् । अनुगमन र कारबाही गर्ने निकायको लापरबाहीका कारण सयौंको संख्यामा अस्पताल भए पनि एउटा पनि स्तरीय सेवा दिने खालको छैन ।'

प्रदेश सरकारले अवैध अस्पताललाई नियन्त्रण गर्न दर्ता प्रक्रिया आउन कदम चालिसकेकाले चाँडै आफ्नो कारबाही अघि बढाउनेछ । देशका विभिन्न ठूला अस्पतालमा यहीका डाक्टरहरू विशेषज्ञका रूपमा छन् । यहाँका डाक्टरहरूले बाहिर स्तरीय सेवा सफल छन् । तर, यहीँको स्वास्थ्य सेवा निकै फितलो छ ।

सो हस्पिटलमा क्यान्सर रोग उपचारका लागि डा.साहको टोली सँगै चितवन भरतपुरस्थित क्यान्सर अस्पताल र काठमाडौँका विभिन्न अस्पतालका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूले सेवा दिइने जानकारी अस्पतालका डा. अखिलेश साहले जानकारी दिएका छन् ।

डा. अवधेश साहको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा डा. आरएन झा र डा. बलराम मिश्रलगायतका वक्ताहरूले पनि आआफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डित, डा. रामजी यादव र डा. रामज्ञान यादव लगायतका जनकपुरधाम क्षेत्रका डाक्टरहरूको उपस्थिति रहेको थियाे । समुद्घाटन कार्यक्रमकै अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३० जना स्वास्थ्यकर्मीसहितका व्यक्तिले रक्तदान गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x