राजनीति

ललिता निवास जग्गा प्रकरण : आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो

इकागज |
साउन ५, २०८० शुक्रबार १७:४५ बजे

काठमाडौँ- ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरू तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जनाले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले रिट खारेज गरिदिएको हो ।


रिटको पक्षमा गत वर्ष साउनमा जारी अन्तरिम आदेशसमेत सर्वोच्चले खारेज गरिदिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरूको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । 

सर्वोच्चको यस निर्णयसँगै जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुलेको छ ।

सीआईबीले ललित निवासको करिब १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा २०४९, २०६२, २०६६/६७ र २०६९ का विभिन्न निर्णयमा संलग्न कर्मचारी, व्यापारी, विचौलिया, तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका हकदारलगायतलाई अनुसन्धानको दायरामा राखेको छ ।


Author

थप समाचार
x