राजनीति

कोशीमा नयाँ सरकारबारे अन्योलमा गठबन्धन , केन्द्रको निर्णय कुर्दै माओवादी र कांग्रेस

उपेन्द्र अर्याल |
जेठ १८, २०८० बिहीबार १७:१६ बजे

काठमाडौँ– केन्द्रको गठबन्धनअनुसार छवटै प्रदेश सरकार गठन भए पनि कोशी प्रदेशमा भने पुरानै सरकारले निरन्तरता पाइरहेको छ । तर, नयाँ सरकार निर्माणका लागि दलहरू भने केन्द्रको निर्णय पर्खेर बसिरहेका छन् ।

बुधबार कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि कोशी प्रदेशको राजनीतिक माहोल के हुन्छ भन्ने अन्योल भएको छ । 


एमालेको नेतृत्वमा बनेको सरकारमा माओवादी, राप्रपा र जसपा सरकारमा समावेश थियो । तर, जसपाबाट स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएपछि अहिले सरकारमा तीन दलको सहभागिता छ । माओवादीलाई पनि सरकारको समर्थन फिर्ता लिन सत्ता पक्षीय दल कांग्रेस दबाब छ ।

सरकारबाट जसपा बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णयसँगै मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ । कार्कीले विश्वासको मत लिँदा माओवादीले समर्थन गर्छ/गर्दैन भन्ने सबैका लागि उत्सुकताको विषय बनेको छ ।

माओवादीले भने तत्काल केही निर्णय गरेको छैन । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले तत्काल माओवादीले केही निर्णय नगर्ने उनले बताए । पार्टीको माथिल्लो तहले यसबारे निर्णय गरेपछि मात्रै प्रदेश कमिटीले निर्णय गर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री भारत भ्रमणमा हुनुहुन्छ,’ माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले भने, ‘उहाँ फर्किएपछि हामी आवश्यक परामर्श लिएर निर्णय गर्छौँ । कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा निरन्तर छलफल भइरहेकै थियो । धेरै दबाबका कारण जसपाले सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको छ । हामी सल्लाह गरेर अगाडि बढ्छौँ ।’ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएर औपचारिक निर्णय लिइने उनले बताए । 

नयाँ गठबन्धनका लागि राप्रपासँग पनि छलफल भइरहेको उनको भनाइ छ । सरकार बन्ने धेरै विकल्प खुला रहेकाले तत्काल प्रदेश सभा विघटनमा जाने सम्भावना नरहेको उनले प्रष्ट पारे । ‘बहुमतको सरकार बन्ने धेरै वटा विकल्प छन्,’ उनले भने, ‘कांग्रेस र एमाले मिल्दा पनि बहुमतको सरकार बन्छ । एमाले र माओवादी मिल्दा वा एमाले बाहेकका अन्य एक ठाउँमा आउँदा पनि बहुमतका सरकार बन्छ । त्यसैले यो सम्भावना भन्दा बाहिर सरकार जाँदैन ।’​

कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पनि कोशी प्रदेशको सरकार गठन प्रक्रियाबारे केन्द्रबाटै निर्णय हुने बताए । ‘नयाँ गठबन्धन कसरी अगाडि कसरी अगाडि बढ्छ भन्ने विषयमा छलफल भएको छैन,’ उनले भने, ‘हामीले यहाँ तलबाट छलफल गरेर केही पनि हुने होइन । यो शीर्ष नेताबाटै निर्णय टुंगो लाग्ने कुरा हो ।’ नयाँ सरकार गठनको विषय केही दिनमै टुंग्गिने उनले बताए ।

वर्तमान कार्की नेतृत्वको वर्तमान सरकारमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसदको समर्थनमा बनेको थियो । तर, जसपाले सरकारको समर्थन फिर्ता लिएपछि अहिले ५९ सांसदको समर्थन भएको देखिन्छ । सरकारलाई समर्थन गरेको दलले फिर्ता लिएपछि उसले विश्वासको मत लिनुपर्ने बाध्यता छ । तर, माओवादीले एमालेलाई विश्वासको मत नदिए नयाँ सरकार गठनको प्रक्रियामा जान्छ । 

यदि नयाँ सरकार गठनमा राप्रपाले सहयोग गरेन भने वर्तमान सत्ता गठबन्धनको सरकारका बनाउन सम्भव देखिँदैन । किनकि ९३ सदस्यीय कोशी प्रदेशमा सरकार बनाउनका ४७ सांसदको आवश्यक पर्छ । वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरूको मत जोड्दा  बहुमत भने नपुग्ने देखिएको छ ।

कोशी प्रदेश सभामा सत्ता गठबन्धनका दल कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४ र जसपाको एक सिट जोड्दा ४७ पुग्छ । तर, गठबन्धनको दल माओवादीबाट एक सांसद सभामुख बनेकाले उनले समर्थन गर्न पाउँदैनन् । जसले गर्दा सत्ता गठबन्धनलाई पनि राप्रपाको साथ अनिवार्य छ । यो अंकगणितले कोशी प्रदेशमा सरकार बनाउने खेल फेरि एकपटक रोचक बनेको छ । 

यता एमालेको पनि हालत उही छ । एमालेसँग राप्रप्रासहितको संख्या जोड्दा ४६ मात्रै हुन्छ । एमालेलाई चाहिने थप एक मत जसपासँग छ । तर, जसपा भर्खरै सरकारबाट निस्किएको छ । त्यसैले उसले फेरि समर्थन गर्ने कुनै सम्भावना देखिँदैन । राप्रपाले साथ नदिएसम्म अर्को सरकार नबन्ने भएकाले एमाले भने चुपचाप सरकार चलाइरहेको छ । कांग्रेसको ध्यान भने जसरी भए पनि राप्रपालाई आफ्नो साथ लिएर सरकार बनाउन चाहन्छ । त्यसैले गठबन्धन राप्रपालाई मुख्यमन्त्री दिएर भए पनि एमालेलाई सत्ताबाट हटाउने पक्षमा देखिन्छ ।

तर, केन्द्रबाट सरकार छाडेको राप्रपा फेरि माओवादी र कांग्रेसको सरकारमा जाला/नजाला त्यो अन्योल छ ।  एमालेबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री बनेका तिलकुमार मेन्याङ्बो लिम्बू भने अहिले यही सरकार चलिरहने विश्वास व्यक्त गर्छन् । उनले सरकारमा भएका दलबीच सहकार्य भइरहेको बताए । ‘हामीसँग एमाले माओवादी र राप्रपा गरेर बहुमतमै छौँ,’ उनले भने, ‘भोलि पर्सी के हुन्छ भन्न सकिँदैन । तर, अहिले यही सरकार अगाडि बढ्छ भन्ने विश्वास छ ।’

नयाँ सरकार बनाउन सहज नदेखिएकाले माओवादी पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहिरहेको उनको दाबी छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x