राजनीति

उपनिर्वाचन

बारा–२ : संसद् पस्ने दाउमा हारेकाहरूले छानेकाे मैदान

उपेन्द्र अर्याल |
चैत २५, २०७९ शनिबार १८:४१ बजे

काठमाडौँ–आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ को भिडन्त रोचक बन्ने देखिएको छ । गत मांसिरको निर्वाचनमा हार्ने उम्मेद्वारहरूले जितका लागि यो क्षेत्र रोजेको हुँदा यस क्षेत्रको उपनिर्वाचन रोचक बन्ने देखिएको हो । बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा उपनिर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दिएका छन् । 

जिल्ला निर्वाचन कार्यालय, बाराका अनुसार जसपाबाट उपेन्द्र यादव, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमतबाट शिवचन्द्र कुसवाहा लगायत ३६ जनाको उम्मेदवारी परेको छ । ३६ मध्ये  २४ जना स्वतन्त्र र १२ जनाले विभिन्न दलबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । तर,  गठबन्धबाट उमेद्वार बनेका यादव, एमालेका पैडेल, रास्वपाका खरेल र जनमतका कुसवाहलाई यस क्षेत्रको मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । 


जसपा अध्यक्ष यादव गठबन्धनका दलहरू कांग्रेस र माओवादीको साथ छ । यादव गठबन्धनको मतमा जित निकाल्दै संसद्मा छिर्ने योजनामा छन् ।  उनी गत निर्वाचनमा भने जनमतका अध्यक्षा सिके राउतसँग पराजित भएका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले भने १६ हजार ९ सय ७९ मत मात्रै पाएका थिए । तर सत्ताबाट टाढा रहन नचाहने यादका लागि यसपटको हारले ब्रेक लगाइदिएको थियो । हारपछि संसद्मा छिर्नकै लागि अनेक राजनीति गरिरहेका  यादवले गठबन्धनमा उपराष्ट्रपति आफ्नो भागमा पारेर रामसहायप्रसादको ठाउँ खालि गराएर उम्मेदवारी दिएका हुन् । 

तर, उनको जितको मुख्य चुनौतीका रुपमा जनमतका कुशवाह र रास्वपाका खरेल छन् । जनमतबाट उम्मेदवारी दिएका कुशवाह अघिल्लो पटक यही क्षेत्रबाट हारेका थिए । कुशवाहाले त्यसबेला १३ हजार ४ सय ६८ मत पाएका थिए भने जसपाबाट जितेकामा रामसहायप्रसाद यादवले १३ हजार ८ सय २२ मत पाएका थिए । यस क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामकिशोर प्रसाद यादवले ११ हजार ४३, रविन्द्र प्रसाद यादवले १० हजार ७ सय ५० पाएका थिए भने जनमतका राजेश साहले २७ सय २५ मत मात्रै पाएका थिए । गत मंसिरको निर्वाचनमा माओवादीबाट उम्मेदवारी दिएका कुशवाहले उपनिर्वाचनमा भने जनमत पार्टीबाट उम्मेदवारी दिएका छन् । कुशवाह पनि आफ्नो लगातारको हार रोक्न यादवलाई हराउँदै जितको खोजीमा छन् ।  

यस क्षेत्रमा जितका लागि प्रतिस्पर्धा गरिहेका रास्वपाका खरेल पनि मधेशमा चर्चित नाम हो । उनी पनि यसपटक अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै आफ्नो जितको खोजीमा छन् । पूर्व डिआईजी खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै २०७४ सालमा पदबाट राजीनामा  दिएका थिए । खासगरी पर्सामा कार्यरत रहँदा एसपी खरेल भन्ने नामले अझै बढी चर्चित बनेका थिए  । उनको कामबाट प्रभावित भएर ‘एसपी खरेल द रियल हिरो’ भोजपुरी फिल्म नै बनेको थियो । पर्सामा ‘हिरोको’ रूपमा देखिएका एसपी खरेल यसपटको उपनिर्वाचनमा बारा–२ मा ‘हिरो’ बन्ने दाउमा छन् । गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ चुनाव लडेका उनले उपनिर्वाचनमा भने रास्वपाबाट उम्मेदवारी दिएका हुन् । उनी काठमाडौँमा कांग्रेसका प्रकाशमान सिंहसँग हारेका थिए । त्यसबेला उनले ३ हजार १ सय २४ मत पाएका थिए भने  सिंहले ७ हजार १ सय ४३ मत पाएका थिए । यसपटक खरेल पनि पनि आफ्नो हार दोहो¥याउन चाहँदैनन् । त्यसैले  खरेल पनि जसपा अध्यक्ष यादवको जितको बाधक बन्न सक्ने आँकलन गरिएको छ । 

अघिल्लो पटक एमालेलाई साथ लिएर जित हासिल गरेको जसपा यस पटक एमाले नहुँदा पनि कांग्रेस र माओवादीको साथ पाएकाले जितका लागि ढुक्क जस्तै देखिन्छ । एमाले भने एक्लै उम्मेदवारी दिएको छ । बारा–२मा एमालेको धेरै चर्चा नभए पनि मधेशमा चर्चा कमाइरहको जनमतले भने जसपालाई टक्कर दिने धेरैको आँकलन छ । त्यसमाथि माओवादीबाट अघिल्लोपाली उम्मेदवारी दिएका कुशवाह नै जनमतबाट उठेकाले अध्यक्ष यादवलाई पनि जित निकाल्न सहज भने देखिदैन ।

तर, बारा–२ को इतिहास भने उपेन्द्र यादवकै पक्षमा भएकाले यसपटक पनि सहजै जित्ने उनले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । २०७४ को प्रतिनिधि सभामा पनि यस क्षेत्रमा यादव नेतृत्वको संघीय समाजवादी फोरमले  नै जित हात पारेको थियो । त्यसबेला पनि संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवले नै विजयी भएका थिए ।  उनले २८ हजार १ सय ८५ मत ल्याउँदा कांग्रेसका राधे चन्द्र यादवले १५ हजार ७ सय ९० र माओवादीका शिवचन्द्र प्रसाद कशवाहले १० हजार, ५ सय ४६ मत ल्याएका थिए । तर, यसपटक जनमत र रास्वपालाई नरोके जसपाको जितको इतिहास भने रोकिने देखिन्छ । 
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x