राजनीति

जनकपुरधामको राराबमा सचिवबाहेक सबै पदमा नेविसंघ विजयी

सुभाष कर्ण |
चैत ६, २०७९ सोमबार २०:६ बजे

जनकपुरधाम- जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा सचिवबाहेक सबै पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार विजयी भएका छन् ।

सभापतिमा नेविसंघका मनिषकुमार यादव १ हजार १४८ मत ल्याएर विजयी भएका छन् । निर्वाचन अधिकृत रेमन्त मौरवैताले जनाए अनुसार निकटतम प्रतिद्वन्द्वीहरू लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् भने पाँच दलीय गठबन्धनका उम्मेदवार गौतम यादव चोरवारले ३८३ मत र विद्यार्थी जनमत संघका उम्मेदवार मो. इजाज मोमिनले १६७ मत ल्याएका हुन् ।


सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साह ९२६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८०९ मत पाएका छन् । त्यस्तै, पाँच दलीय गठबन्धनका उम्मेदवार अजय सिंह कुशवाहाले ४५३ मत मात्र ल्याएका छन् ।

कोषाध्यक्षमा नेविसंघका राकेशकुमार सिंह ९९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजयकुमार पण्डितले ८२६ मत मात्र पाएका छन् । त्यस्तै, पाँच दलीय गठबन्धनका उम्मेदवार निरजकुमार गुप्ताले ३९५ मत मात्र ल्याएका छन् ।

त्यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्नाकुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकासकुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिषेक शर्माले (९७०) मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत मौरवैताले जनाएको छ ।

स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ मतदान भएको थियो । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कूल ८८ जनाले उम्मेदवारी दिएका थिए ।

समानुपातिक सदस्यतर्फ संगठनहरूले पाएको मतका आधारमा १० जनाको नियुक्ति गरिनेछ । ती मध्ये नेविसंघ बाँडफाँट ४, लोविसंघ ३, संयुक्त विद्यार्थी प्यानलले दुई र जनमतले एउटा सदस्य पाएको छ । ती सदस्यहरूको नामावली संगठनहरूले पठाए अनुसार नियुक्त गरिने निर्वाचन अधिकृत मरवैताले जानकारी दिएका छन् ।

उपाध्यक्ष र सहसचिवको नियुक्ति समानुपातिक सदस्यबाट कार्यसमितिले सर्वसम्मति वा सहमति हुन नसके बहुमतका आधारमा कार्यसमितिको २१ वटै पदाधिकारीले गरेको मतदानका आधारमा हुने उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x