राजनीति

अस्पतालमा प्रेम आचार्यलाई भेट्दा कुनै पनि प्रोटोकोल मिचेको छैन : स्वास्थ्य राज्यमन्त्री कार्की

इकागज |
माघ १३, २०७९ शुक्रबार १७:३४ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले कार्ययोजना बनाएर स्वास्थ्य क्षेत्र सुधारका लागि काम सुरु गरिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसंगको छलफलका क्रममा राज्यमन्त्री कार्कीले आफूले पदबहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको र त्यसै अनुसार काम सुरु गरिसकेको बताइन् । उनले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिइन् ।


एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाउँमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम भइरहेको उनले जानकारी दिइन् । मन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै विनियोजन भएकाले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने तयारी भएको बताइन् ।

त्यस्तै उनले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न मन्त्रीको हैसियतले नभई मानवताको नाताले चिकित्सकको हैसियतले गएको दाबी गरिन् । उनले अस्पतालमा आचार्यलाई भेट्दा कुनै पनि प्रोटोकोल नमिचेको समेत बताइन् ।

राज्यमन्त्री कार्कीले डाक्टर गोविन्द केसीले राख्दै आएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको र सदनबाट पनि डा केसीका मुद्दाहरूलाई अघि बढाउने बताइन् ।


Author

थप समाचार
x