राजनीति

कांग्रेस महाधिवेशनको तयारी

निर्वाचन समिति संयोजक अधिकारीले किन दिए राजीनामा ?

मधुसुधन भट्टराई |
चैत २२, २०७७ आइतबार १३:३१ बजे

काठमाडौँ : नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राजीनामा दिएका छन् । चैत १६ गतेबाट लागू हुनेगरी अधिकारीले दिएको राजीनामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले स्वीकृत  गरेको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले समितिको संयोजक पदबाट दिनु भएको राजीनामा स्वीकृत गरिएको छ,’ केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिको छैटौँ नम्बरको बुँदामा उल्लेख छ । 


कांग्रेसको १२ औं र १३ औं महाधिवेशन निर्वाचन समितिको संयोजकका हैसियतमा सफलतापूर्वक सम्पन्न गरेका अधिकारीलाई १४ औं महाधिवेशन सम्पन्न गर्न पनि कांग्रेस केन्द्रीय कार्यसमितिले अधिकारीलाई जिम्मेवारी सुम्पेको थियो । कांग्रेसले महाधिवेशनबाट नयाँ कार्यसमिति आएपछि अर्को महाधिवेशनका लागि निर्वाचन समिति बनाउँछ । त्यसै अनुरुप देउवा नेतृत्वको कार्यसमितिले १४ औं महाधिवेशनका लागि पनि निर्वाचन समिति संयोजक बनाएको थियो । 

निर्वाचन समिति सदस्यमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे तथा अधिवक्ताद्वय सिताराम केसी र यगराज पोखरेल छन् ।

केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन प्रयोजनार्थ पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरण म्याद ३० चैतसम्म पुर्‍याएकै दिन अधिकारीकाले राजीनामा दिनुलाई धेरैले आश्‍चर्यका रूपमा लिएका छन् । 

अधिकारीले राजीनामा पत्रमा स्वास्थ्यका कारण उल्लेख गरेको कांग्रेस केन्द्रीय कार्यालयले बताएको छ । तर, संगठन समायोजनमा शीर्ष नेताहरूबीच देखिएको विवाद र आफ्नो निर्णय मान्य नभएपछि राजीनामा दिएको स्रोतले बतायो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले अधिकारीले निर्वाचन समितिलाई संविधान अनुरुप पार्टीको संगठन समायोजनको काम नदिन आग्रह गदौगदै दिएको थियो । त्यसबेला आफूहरूले कांग्रेस केन्द्रीय समिति र शीर्ष नेताहरूसँग राखेको धारणा उल्लेख गर्दै सदस्य घिमिरेले भने, ‘समायोजनको काम निर्वाचन समितिलाई नदिनुस्, हामीलाई काम गर्न गाह्रो हुन्छ । जिल्ला समिति र सभापतिहरूसँग टसमस हुन सक्छ भन्यौं । तर, नमानेर हामीलाई दिनुभयो ।’
 
नेताहरूबीच जे गर्दा पनि कुरा नमिलेपछि संगठन समायोजनको जिम्मेवारी पाएको निर्वाचन समितिले ३ पुसमा बारा, सप्तरी र सिन्धुपाल्चोकको समायोजनको काम केन्द्रीय कार्यसमितिमै फिर्ता पठाएको थियो । 

तर, फेरि १७ माघमा समायोजनको काम सक्ने जिम्मेवारी पुनः निर्वाचन समितिलाई सुम्पिएको थियो । तर, अहिलेसम्म पनि ती जिल्लाको समायोजन सकिएको छैन । ‘विवादित बारा र सप्तरीको समायोजन १४ चैतमा नै हामीले सक्यौं । बाँकी सिन्धुपाल्चोकमा बाँकी छ,’ समायोजनको जिम्मा पाएको निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता घिमिरेले भने । 

काम सकेकामध्ये ७ जिल्लाले पुनरावलोकनका लागि निवेदन दिएका छन् । सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा र बाँकेले दिएको पुनरावोकनको निवेदनमाथि अझै समितिले काम गरेको छैन । केन्द्रीय समितिले त्यो काम पनि निर्वाचन समितिलाई नै दिएको थियो । 

क्रियाशील सदस्यतामा विवाद संगठन समायोजनमा विवाद र न्यायसंगत तरिकाले काम गर्दा नेताहरू चिढिने अवस्था आएपछि हात झिक्दा उपयुक्त हुने निष्कर्षसहित अधिकारीले राजीनामा दिएको स्रोत बताउँछ । मुख्यगरी पार्टीभित्रको नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताको विषयमा विवाद झिक्दै आएको थियो । जसका कारण अन्य पार्टीबाट आएकाहरूको सदस्यता संगठनमा समायोजन हुन सकेको छैन । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रमा आउनेगरी तयारी गर्न निर्वाचन समितिबाट राजीनामा दिएको हुनुक्ने बताए । ‘पार्टीको केन्द्रमा आउने गरी तयारी थाल्न निर्वाचन समितिबाट राजीनामा दिएको मैले बुझेको छु । उहाँ गर्नुपर्ने प्राय काम सकाउनु भएको छ,’ शर्माले इकागजसँग भने ।  निर्वाचन समितिको नयाँ संयोजक नतोकिएको शर्माले बताए । 

स्रोतका अनुसार २७ चैतमा बस्‍ने कांग्रेस केन्द्रीय समितिबाट नयाँ संयोजक तोक्ने तयारी कांग्रेसमा छ ।  अधिकारी १२ औं महाधिवेशनबाट निर्वाचन समितिको संयोजक भएका थिए । त्यो महाधिवेशन सकिएपछि संयोजकबाट राजीनामा दिएका अधिकारीलाई महाधिवेशनबाट निर्वाचित तत्कालीन सुशील कोइरालाले पुनः संयोजक बनाए । १३ औं महाधिवेशन सकेर राजीनामा दिएका अधिकारीलाई सभापति शेरबहादुर देउवाले पुनः केन्द्रीय समितिबाट संयोजक बनाएका थिए । 
 
संयोजकमा घिमिरेको दाबी

कांग्रेस निर्वाचन समितिको संयोजकमा सदस्य रहेका वरिष्ठ अधिवक्त गोपालचन्द्र घिमिरेले दाबी गरेका छन् । कांग्रेसको सुभेच्छुक संस्था डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष र १२ औं महाधिवेशनदेखि निरन्तर कांग्रेसको निर्वाचन समितिमा रहेकाले आफूले संयोजक पाउनुपर्ने दाबी घिमिरेको छ । 

उनीहरू वरिष्ठ अधिवक्ता नभएकाले घिमिरेको दाबी स्वभाविक पनि देखिन्छ । तर, कांग्रेसका नेताहरू भने बाहिरबाट संयोजक ल्याउने कि भन्‍नेमा पनि देखिएका छन् । घिमिरेले भने अधिकारीबाहेक अरु आएमा आफूले सदस्यमा काम नगर्ने बताए ।

‘लामो समयसम्म सदस्य भएर काम गरे, डिएलएको अध्यक्ष भइसकेको र वरिष्ठ अधिवक्ता पनि भएकाले राधेश्याम दाई आए छुट्टै कुरा, नभए सदस्यमा काम गर्दैन, अर्को संयोजक बनेमा राजीनामा दिने मनस्थितिमा छु’ घिमिरेले इकागजसँग भने ।
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x