दल

‘स्थापितलाई ढाकछोप गर्ने ओली नीतिले एमाले नै प्रश्नको घेरामा’

उपेन्द्र अर्याल |
बैशाख १६, २०७९ शुक्रबार १५:२ बजे

काठमाडौँ– स्थानीय निकाय निर्वाचनले माहौल तातिरहेका बेला बिहीबार एमालेले काठमाडौँ  महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका केशव स्थापितको सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले सबैको ध्यान खिचेको छ । भिडियोमा स्थापित एकजना प्रश्नकर्तामाथि जंगिरहेका देखिन्छन् । 

धुम्बाराही काठमाडौँको नेसनल कलेजमा आयोजित महानगरपालिकाको मेयरको उम्मेदवारहरूलाई प्रश्न गर्ने क्रममा भावना राउतले स्थापितमाथि लागेको यौन हिंसाको आरोपबारे प्रश्न उठाएकी थिइन् । तर स्थापितले उनको प्रश्नमा आक्रोशित हुँदै आपत्तिजनक उत्तर दिए, ‘यू आर नाइस लेडी, तर थुतुनो ठिक भएन ।’
उनले दिएको उत्तर गैरजिम्मेवारीपूर्वक मात्रै थिएन, महिलालाई अपहेलित गर्ने थियो । मञ्चबाट उनले दिएको उत्तरले सबैको ध्यान खिच्यो र अहिले सामाजिक सञ्जालमा स्थापितको चर्को आलोचना भइरहेको छ । 


स्थापित त्यत्तिकै रोकिएनन् । ‘तपाईंसँग प्रमाण के छ ? मैले पनि यो बहिनी वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ ?,’ उनले अगाडि भने । 

यो घटनाको समाचार सेयर गर्दै स्थापितलाई यौन दुर्व्यहारको आरोप लगाउने रश्मिला प्रजाप्रति प्रश्न गर्छिन्, ‘यो त  अति भएन । एउटा यौन दुराचारीले सार्वजनिक रुपमा एकजना महिलालाई जे बोले पनि सुनेर बस्ने एमालेका महिला नेतृहरू, महिला अधिकारकर्मिहरू र महिला पत्रकारहरू ?’ 

उनले एमालेले स्थापितलाई उम्मेदवार बनाउने भएपछि नै विरोध गरिरहेकी थिइन् । प्रजापतिले फेसबुकमै लेखेकी छिन्, ‘एमालेले काठमाडौँमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको छ । र पद पाउने भएपछि महिलाको खुबै वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भए । छि ! दुर्गन्धित राजनीति ।’ 

यस्तै अहिले महिला अधिकारकर्मीहरूले पनि स्थापितलाई प्रश्न गरिरहेका छन् । लेखक तथा अभियन्ता अर्चना थापाले यौन दुव्र्यवहारको आरोप लागेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउनु नै गलत भएको बताउँछिन् । 

स्थापितले दिएको अभिव्यक्ति दम्भले भरिपूर्ण भएको उनले टिप्पणी गरिन् । ‘स्थापितले यस्तो अभिव्यक्ति दिनुमा उहाँको पार्टी पनि दोषि छ,’ उनले भनिन्, ‘पार्टीभित्र कसैले पनि उहाँलाई सोध्ने आँट गर्न सकेन ।’

यसले हाम्रो नेतृत्वको लागि देशको ठूला पार्टीले  कस्ता उम्मेदवार छान्दैछन् भन्ने उदाहरण देखाउने उनले बताइन् । लोकतन्त्रमा उम्मेदवार जो सुकै छानिएर आए पनि उनीहरूलाई प्रश्न गर्ने छुट हुने उनले बताइन् । 

‘कुनै पनि पुरुष वा  महिला उम्मेदवारको रुपमा छानिएर नाम सार्वजनिक भइसकेपछि नागरिकलले प्रश्न सोध्ने छुट हुन्छ,’ उनले भनिन्, ‘लोकतन्त्रमा उनीहरूका अजेन्डाको बारेमा कार्यतालिकाको बारेमा  र व्यक्तिगत कुरामा समेत प्रश्न सोध्ने छुट हुन्छ । किनकी प्रत्येक नागरिकको एउटा भोटले महत्व राख्छ ।’ यस्ता उम्मेदवारको सार्वजनिक रुपमै विरोध गरेर हराउनु पर्ने लेखक थापाले बताइन् । 

लेखक सरिता तिवारीले फेसबुकमा स्ट्याटस लेख्दै केशव स्थापित र बालेन शाह स्त्रीद्ववेषी भएकाले दुवै मतका लागि योग्य नभएको बताएकी छन् । उनले लेखेकी छन्, ‘काठमाडौको चुनावमा एमालेले उठाएका केशव स्थापित र ‘स्वतन्त्र’ भनिएका बालेन शाहलाई मतदान गर्न प्रचार गर्नुअघि यी दुई कुख्यात स्त्रीद्वेषी हुन् भन्ने हेक्का राख्नुहोला ।’

स्थापितले आफूमाथि लागेको आरोपलाई सार्वजनिक रुपमा खिल्ली उडाएको भन्दै उनी मतका लागि योग्न नभएको तिवारीले बताएकी छिन् । लेखक तिवारी थप्छिन्, ‘केशव स्थापितमाथि यौन दुव्र्यवहारको आरोप प्रमाणित भई कारबाही भैसकेको भए पनि यिनले उक्त आरोपलाई सार्वजनिक खिल्ली उडाउँदै रक्षात्मक हुँदै आएका छन् भने बालेन शाहले एक्सनसहित गाएको महिलाको स्तनमाथि हिंसात्मक टिप्पणी गर्ने, यौनजन्य हिंसात्मक बिम्बहरू प्रयोग भएको र्‍याप बारे कतै आत्मालोचितसम्म भएको मलाई जानकारी छैन । यी दुई पात्र मतयोग्य छैनन् भन्नेमा पनि दुई मत हुन्छ भने धिक्कार छ हाम्रो ‘अभिमत’लाई !’

स्थापितको चरित्र र उनको अभिव्यक्तिमै सर्वत्र प्रश्न उठिरहँदा एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै स्थापितको बचाउ गरे । उनले चुनाव आएपछि यस्ता कुरा सार्वजनिक हुने भन्दै स्थापित माथि लागेको प्रश्नलाई सामान्य बनाइ दिए । उनलाई हराउन गरिएको विरोध मात्रै भएको भन्ने ओलीको आशय थियो । ‘चुनाव आएपछि कुप्रचार आउँछन् । चरित्र हत्याका कुराहरू आउँछन्,’ ओलीले भने, ‘मि टू आउँछन् यस्ता बेलामा । अनि अब मि टूको के जवाफ हुन्छ ? मि टू । मि टू को कुनै जवाफ हुन्छ ? कतिबेर आउँछ मि टू भन्दा चुनाव आयो कि मि टू । हामी यस्ता कुराहरूमा होइन महान उद्देश्यमा अगाडि बढेका छौँ ।’ 

ओलीले आफू निकट नेतालाई भ्रष्टाचारको आरोप लाग्दा विगतमा पनि पटक–पटक आफैँ न्यायाधीश बनेर उत्तर दिने गरेका थिए । यस पटक पनि ओलीले आफ्ना उम्मेदवार स्थापितमाथि लागेको आरोपलाई चुनावी कुप्रचार भन्दै सामान्यीकरण गरिदिए । अध्यक्षको यस्तो प्रतिक्रियाले पीडकलाई झन् हौसला दिने लेखक थापाले बताइन् । ‘अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले स्थापितलाई झन् हौसाला दिएको छ,’ उनी भन्छिन्, ‘तपाईहरू गर्दै जानुहोस् हामी बचाउँछौँ भनेको हो ।’ उनले अब यस्ता उम्मेदवार विरुद्दमा सामुहिक रुपमै विरोध गर्नुपर्ने बताइन् । 

अहिले एमाले सम्बद्ध अधिकारकर्मीहरूले पनि खुलेरै स्थापितको समर्थन गरिरहेका छन्  । उनीहरू सामाजिक सञ्जालमा खुलेरै स्थापितको पक्षमा लागेका छन् । सञ्चारकर्मी निर्मला शर्माले यो सबै चुनावी फण्डा मात्रै भएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् । उनले यस्ता विषयलाई चुनावी अजेण्डा नबनाउन समेत सल्लाह दिएकी थिइन् । आफ्नो पार्टीका उम्मेदवारले यस्तो अभिव्यक्ति दिइरहँदा पनि पार्टी भित्रका महिला नेतृत्वहरु भने मौन देखिएका छन् । उनीहरूको मौनताले स्थापितलाई नै समर्थन गरिरहेको छ । 

स्थापितको अभिव्यक्तिले आउने चुनावमा उम्मेदवारको रूपमा जित हासिल गर्न उनलाई अप्ठेरोमा पर्ने देखिएको छ । उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोप र उनको अभिव्यक्ति स्थापितलाई महंगो पर्नेछ । सामाजिक सञ्जालमा मतदाताहरू केशव स्थापितलाई मत नदिने भन्दै उनको विपक्षमा उभिन थालेका छन् । अघिल्लो निर्वाचनमा उम्मेदवार बनेकी रञ्जुन दर्शनाले महिला द्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिने र तिनलाई साथ दिनेलाई भोट नहाल्ने बताएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘म यस स्थानीय निर्वाचनमा म पनि का.म.पा. को मतदाता हुँ । महिला द्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिने र तिनलाई साथ दिनेलाइ म भोट हाल्दिनँ ।’
स्थापितको प्रतिस्पर्धामा काठमाडैंको मेयरमा गठबन्धनले कांग्रेसकी सिर्जना सिंहलाई उठाएको छ । विवेकशील साझाले समिक्षा बाँस्कोटालाई उठाएको छ । राप्रपाले मदनदास श्रेष्ठलाई उठाएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाहको पनि चर्चा धेरै छ । 

स्थापितले यसअघि नै काठमाडौँ  महानगरको मेयरको रुपमा काम गरिसकेका छन् । उनी यसअघि बागमती प्रदेशका सांसद पनि थिए । उनी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीहुँदा उनलाई यौन दुव्र्यवाहरको आरोप लागेकोे थियो । उनलाई महानगरकी पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले स्थापितले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । रश्मिलाले फेसबुक मार्फत स्थापितलाई यौन दुर्व्यवारको आरोप लगाएकी थिइन् । स्थापितले राखेको प्रस्ताव अस्विकार  गर्दा उनलाई जागिरबाटै निकालिएको उनले उल्लेख गरेकी थिइन् । 

पत्रकार उज्जवला महर्जनले पनि स्थापितले आफूलाई असामान्य ढंगले साथी बन्ने प्रस्ताव राखेको फेसबुकमा लेखेकी थिइन् । उनले स्थापितको अन्तर्वार्ता लिइसकेपछि विभिन्न बाहनामा फोन गर्दै अस्वभाविक ढंगले साथी बन्न फोन गरिरहने उल्लेख गरेकी थिइन् । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x