दल

एमसीसी सम्झाैता

देउवा अनिर्णित, प्रचण्ड रणनीति बुन्दै, नेपालले ह्वीप छाडे, झलनाथको दुरुत्साहनयुक्त अभिव्यक्ति

अनिष भट्टराई |
फागुन ७, २०७८ शनिबार १५:३८ बजे

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता साझेदार दलहरूले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) संसदमा ल्याउन नदिने र जबर्दस्ती ल्याए विपक्षमा मतदान गर्ने  भनेका छन् । 

अझै पूर्वप्रधानमन्त्री झलनाथ खनालले त हिंसा भड्काउने दुरुत्साहनयुक्त अभिव्यक्ति नै दिइसके । खनालले ‘यदि एमसीसी संसदमा पेस भयो भने देशभर आगो बल्छ । त्यतिमात्र होइन क–कसका टाउको फुट्छन्, क–कसका हातखुट्टा भाँचिन्छन्... ’ भनेका छन् । उनै खनालले पहिले देउवालाई ‌'एमसीसीमा ओली (केपी शर्मा ओली)काे एजेन्डा तपाईं किन बाेक्नुहुन्छ?' भनेर प्रश्न गरेका थिए । 


२०६८ सालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा सुरु भएको र त्यसयता सबै दल र अहिलेका सबै शीर्ष नेताले अघि बढाएको अमेरिकी अनुदान सहायता निकाय, एमसीसीसँग विकास सहायता लिने विषयमा माओवादी केन्द्र लगायतका दलले बोली फेरेपछि मुलुक भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने जोखिम बढेको छ ।

कूटनीतिक मामिला जानकार लेखनाथ पौडेलले एमसीसी नेपालले लिए पनि वा अस्वीकार गरेपनि अमेरिकाले प्रतिद्वन्द्वी शक्तिका लागि नेपालको मैदान खाली गरिदिन्छ भनेर सोच्नु गलत हुने बताए । ‘यो सहायता सम्झौतामा नेपालले स्वीकार वा अस्वीकार जे गरेपनि अमेरिका नेपालमा अझै बलियो उपस्थिति जमाएर बस्नेछ,’ उनले भनेका छन् । 

एमसीसी सम्झौता ठूला पार्टीको चुनावी मुद्दा बन्‍ने स्थितिमा छाड्नु दुर्भाग्यपूर्ण हुन्छ । 

उत्तरी छिमेकी चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले पनि अमेरिकाको धम्कीपूर्ण कूटनीतिको विरोध गर्छौं भनेर प्रतिक्रिया दिएका छन् । यो मामिलामा अमेरिका र चीनजस्ता शक्तिशाली राष्ट्र आमने–सामने हुने र त्यो घानमा नेपाल पर्नु कूटनीतिक अपरिपक्वता र कूटनीतिक सम्बन्धको अतिराजनीतिकरण भएको जानकारहरू बताउँछन् । 
‘नेपालले न अमेरिकासँग सम्बन्ध बिगार्न सक्छ, न चीनसँग नै,’ एक कूटनीतिज्ञले भने, ‘दुवै मुलुकसँग सन्तुलित सम्बन्ध विकास गरेर जानुपर्छ । हाम्रो भूराजनीति संवेदनशीलतालाई विचार गरेर एउटा शक्तिको विरुद्ध अर्कोलाई उकास्ने काम गर्नुहुँदैन ।’ 

एमसीसी सम्झौता टेबुल गर्ने रस्साकस्सी चलिरहँदा चीनले अर्को राष्ट्रको मामिलामा दिएको प्रतिक्रिया दिनु आफैंमा अस्वभाविक छ । यसका बाबजूद पनि प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन कि एमसीसी भन्नेमा अनिर्णित रहेका छन् । देउवा निकट रहेका कांग्रेसका प्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महतले गठबन्धन र एमसीसी फरक–फरक विषय भएको बताएका छन् । 

गठबन्धनमा सबै साझेदारले एमसीसीमा देउवालाई नसघाउने र एमसीसी टेबल हुनबाटै रोक्ने, उनलाई अल्मल्याउने दाउमा छन् । देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फ्रेबुअरी २८ अर्थात् फागुन १६ भित्रै एमसीसी अनुमोदन गर्ने आश्वासन अमेरिकालाई पत्रमार्फत् दिएका थिए । 

एमसीसी अनुमोदन गर्ने समयसीमाका सम्बन्धमा एमसीसीले जानकारी गराएपछि दाहालको दल माओवादी केन्द्रले भने एमसीसीको विपक्षमा मतदान गर्ने र सरकार छाड्ने बताइसकेका छन् । नेकपा एकीकृत समाजवादीले आज स्थायी समिति बैठक बसेर निर्णग गर्ने भन्दै देउवासँग समय मागेको थियो । 

‘प्रधानमन्त्री अझै पनि नेकपा एकीकृत समाजवादीले ह्वीप लगाउँदैन, माओवादीले विपक्षमा मतदान गरेर केही समय बाहिर बस्छ, अनि एकाध महिनामा फेरि सरकारमा ल्याउने भन्नेमा हुनुहुन्छ,’ देउवा निकट एक नेता भन्छन्, ‘उहाँका निकटस्थले पनि यस्तै सल्लाह दिएका छन् भन्ने सुनेको छु । तर यसमा उहाँ अलमलिनुभएको हो भने फेरि पनि धोका पाउनुहुन्छ ।’  

नेपाली कांग्रेसमा महामन्त्री गगन थापा, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतले एमालेसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएका छन् । एमालेसँग सहकार्य गरेर जानुपर्नेमा कांग्रेसभित्र ठूलो मत छ, तर देउवाले अझै पनि गठबन्धनबाटै एमसीसीमा पनि समाधान खोजीरहेको बुझिएको छ । 

‘एमाले र कांग्रेस एमसीसीका सम्बन्धमा सहकार्य गरेर अघि बढे ठूला दलबाट यो निर्वाचनको मुद्दा बन्ने छैन,’ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल भन्छन्, ‘यो मेरो दृष्टिकोण हो । यही विषयमा मैले स्वतन्त्र रूपमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग केही अगाडि संवाद गरेको हुँ ।’ 

देउवा अहिले गठबन्धन जोगाउने कि एमसीसी पास गर्ने सकसमा देखिन्छन् । एमसीसी पास गर्ने समयसीमा नजिकिँदै जाँदा देउवाले ओलीसँग संवाद त अघि बढाएका छन् । तर ओलीले ‘दुवैतिर माया लगाउने कुरा नगर्नुस्’ भनेर  स्पष्ट भनिसकेका छन् । प्रजातन्त्र दिवसको राष्ट्रिय समारोहमा आज आयोजित कार्यक्रममा देउवाले ओलीलाई फकाउन ‘स्थानीय निर्वाचन लगत्तै संघ र प्रदेशको निर्वाचन हुन्छ’ भनेका छन् । तर त्यतिलेमात्र कांग्रेस र एमालेबीच अहिले सहकार्यको वातावरण बन्दैन । 

संसदमा जारी अवरोध खुलाउनदेखि एमसीसी अनुमोदन गर्न र यसलाई कम्तीमा एमालेजस्तो ठूलो दलले चुनावी मुद्दा बनाउन नदिन देउवा आफै सक्रिय हुनुपर्नेमा उनी नै अलमलिएकाले एमालेसँग सहमति बन्न नसकेको हो । 

प्रधानमन्त्री देउवाको निर्णायक ‘मुभ’ आवश्यक भएपनि उनका सहयोगीले गठबन्धन भित्रैबाट समाधान निकाल्छौं भनेर उनलाई अल्मल्याइरहेका छन् । ओलीलाई सरकारबाट हटाएर गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका देउवालाई ओलीले आफूलाई जुनसुकै बेला भड्खालोमा हाल्न सक्ने डर रहेको पनि बुझिन्छ । 

‘एमालेका शर्त र कांग्रेसका शंका निवारणका लागि लिखित समझदारी गर्न पनि सकिन्छ भनेर संवाद भएको थियो, त्यसपछि प्रधानमन्त्रीले पनि वन–अन–वन एमाले अध्यक्षसँग कुरा गरिसक्नुभयो,’ कांग्रेसका एक नेताले भने, ‘अब उहाँ अघि बढ्न तयार हुनुपर्छ ।’

अब पनि प्रधानमन्त्रीले अलमल गर्नु भनेको माओवादी केन्द्रका अध्यक्ष दाहाललाई रणनीति बनाउन पर्याप्त समय दिनुमात्र हुने ती नेताले बताए । अहिले गठबन्धनभित्र माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादी (उपेन्द्र यादव समूह)लाई दाहालले नेतृत्व गरिरहेका छन् । यद्यपि पूर्वप्रधानमन्त्री खनालले चर्काे अभिव्यक्ति दिएपनि उनकाे दल नेकपा एकीकृत समाजवादीले भने एमसीसी सम्झाैतालाई आर्थिक सहायताका रूपमा स्वीकार गर्ने निर्णय गरेकाे छ ।

कांग्रेसभित्र एकथरि नेताले भने अब प्रधानमन्त्री देउवाले गठबन्धन वा एमसीसी रोज्नुपर्ने भनेर दबाब शुरु गरिसकेका छन् । देउवा पक्षकै सांसद डा. शंशाक कोइरालाले शुक्रबारको संसद बैठक पछि देउवाका सामु अब दुई विकल्प रहेको भन्दै एमसीसी वा गठबन्धन रोज्नुपर्ने बताएका थिए । अहिलेकै अवस्थामा एमसीसी पास भए गठबन्धन नरहने र गठबन्धन रहे एमसीसी पास नहुने भएकाले देउवाले निर्णय लिन सक्नुपर्ने उनको भनाइ थियो ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x