दल

टिप्पणी

आफ्नै अधिवेशन धकेलिरहने पार्टी आम चुनावमा के होला ?

चन्द्रशेखर अधिकारी |
साउन २७, २०७८ बुधबार १३:३९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन सर्ने सम्भावना बढेको बढ्यै छ । यही भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन सार्ने मनसायमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै समूह पुग्दैछन् । फरक-फरक गुटबाट बाहिर आएका धारणाले त्यही संकेत गरिरहेको छ । चार वर्षमा महाविधेशन गर्न नसकेर एक वर्षको थप सुविधा अनि त्यसपछि कानुनले दिएको अर्को ६ महिने सुविधा पनि प्रयोग गरिसकेको कांग्रेसले अझै महाधिवेशन सार्ने तयारी गरेको हो ।

कांग्रेसका नेताहरू भदौमै महाधिवेशन सम्भव छैन भन्‍न थालेका छन् । उनीहरूले प्रक्रिया सुरु गरेर मंसिरमा महाधिवेशन सार्न खोज्दै छन् । हुन पनि महाधिवेशनका लागि कांग्रेसले गर्नैपर्ने काम पूरा नगर्नु, जानाजान समस्या लम्बाइनु, क्रियाशील सदस्यता विवाद समयमै मिलाउन नखोज्दाको परिणाम हो ।


महाधिवेशन र क्रियाशील सदस्यताका हकमा देउवा निवास बुढानीलकण्ठमा बुधबार बिहानदेखि छलफल चलिरहेको छ, देउवा निकट गुटको । त्यस्तै, छलफल रामचन्द्र पौडेल निकट गुटको पनि नियमित चलिरहेको छ । त्यतिमात्र होइन, पौडेल निकटका जिल्ला सभापति भेला सोमबार-मंगलबार काठमाडौँमा भयो । उक्त भेलाले पनि समयमा महाधिवेशन गर्न कांग्रेस नेतृत्वलाई थप दबाब दिने र नैतिक प्रश्न उठाउने निर्णय लिएको छ ।

महाधिवेशन मिति सार्दै जाने संविधानको छिद्र खोजेर सुविधा उपयोग गर्दै जाने शैली लोकतान्त्रिक हुनै सक्दैन र आम मानिसमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा पनि फरक आउने देखिन्छ । यसतर्फ कांग्रेस बेलैमा सचेत हुनुपर्छ । 

यसरी गुट भेलाले कांग्रेसभित्र किचलोसमेत बढाउँदै लगेको छ । कांग्रेसका जिल्ला सभापतिहरूको भेलाले समयमै महाधिवेशन नहुँदा पार्टीको वैधानिकता नष्ट गर्ने काममा शीर्ष नेताहरू लागेको आरोप लगाइसकेका छन् । निर्वाचन आयोग लचिलो देखिए पनि भोलि सर्वोच्च अदालतमा कसैले कांग्रेसको वैधानिकतालाई आधार देखाएर मुद्दा दायर गर्न सक्ने र त्यसले समस्या उत्पन्‍न हुन सक्ने आशंकामा कांग्रेसीजनहरू देखिन्छन् ।

तर कांग्रेस नेतृत्वले कोभिडकालले केही पर महाधिवेशन धकेल्न सक्ने बताउँछन् । वा कताकति विशेष महाधिवेशनको कुरा उठाएर निरन्तरता खोजेको पनि देखिन्छ । यो पाटो नियाल्दा कांग्रेस साच्चै लोतान्त्रिक पथबाट कतै जान खोजेको देखिन्छ नै ।

सामान्य रूपमा र आफूले देखेको बाटो मात्र सही ठान्दै हिँड्दा कांग्रेसले ‘असहज परिस्थिति’को सामना गर्नुपर्ने त होइन ? भन्‍ने आशंका पनि बाक्लिँदो छ । गुटमा लाग्नेहरू पनि ‘तत्कालको फाइदा’ हेर्ने पार्टीको दीर्घकालीन भविष्यबारे सोचिरहेको पाइँदैन ।

महाधिवेशन नभएकै कारण पार्टीका मथिल्लो तहमा रहेका नेताहरू कहाँ पार्टी बर्बाद हुन्छ भने कुतर्कसमेत गर्छन् । त्यहीँभित्र केहीले भने प्रक्रिया अघि बढाएर मंसिरमा नै पुर्‌याएर भए पनि महाधिवेशन गरौँ भनिरहेका छन् ।

केही समय अघिसम्म देउवा-पक्ष तत्काल महाधिवेशनमा जाने मुडमा देखिएको थिएन । तर, देउवा सत्तामा पुगेपछि तत्काल महाधिवेशन गराउने पक्षमा देउवा पक्षधर देखिएका छन् भने रामचन्द्र पौडेल समूह केही समय पर धकेल्न खोेजेको देखिन्छ । तर उनीहरू दुवैको मनसाय मंसिर नै देखिन्छ । 

क्रियाशील सदस्यताका विषयमा देखिएका विवाद समाधान गर्न सभापतिका विश्वास पात्र प्रायः असफल जस्तै भएपछि घोषित मितिलाई फेरि सार्ने तयारी गरेका हुन् । पार्टी कार्यालयमा भएका धर्ना र अनशनलाई कारण देखाउँदै विवादलाई थाँती राखी क्रियाशील सदस्यता छानबिन समितिले शीर्ष नेतृत्वलाई सदस्यताको प्रतिवेदन बुझायो । यद्यपि पौडेल समूहले छानबिन प्रक्रिया पारदर्शी नभएको आरोप लगाइरहेको छ ।

समयमै महाधिवेशन गनेर वयोवृद्ध एवं ज्येष्ठ सबै पुस्ताले ग्रेसफुस एक्जिट (सम्मानजनक बहिगर्मन) लिँदै जोस र होस भएका, विचार र व्यवहारमा खरो उत्रिएका नयाँ पुस्तालाई निर्वाचनमार्फत कांग्रेस हाँक्न दिनु पार्टीको मात्र होइन, देशकै हितमा छ ।

हुन त, यसरी विवाद देखाउनुलाई ‘रणनीतिक कार्य’ भनिएको छ । भदौमै महाधिवेशनको प्रक्रिया मात्रै भए पनि सुरु गर्ने मनसाय देउवाले बनाएको देउवा निकट नेताले बताए । तल्लो तहमा अधिवेशन सुरु गरेर प्रक्रियामा जाने र मंसिरमा महाधिवेशन गराउने तयारी कांग्रेस नेताहरूबीच छ । यस विषयमा बिहीबारदेखि बस्‍ने केन्द्रीय समिति बैठकले पक्कै निर्णय लिनेछ ।

भदौमा महाधिवेशनको प्रक्रिया अघि बढाएर असोज-कात्तिकमा सबै तहका अधिवेशन सक्ने र मंसिरमा केन्द्रको महाधिवेशन गर्नेबारे पनि छलफल भएको छ । देउवा गुटमा यस विषयमा लगातार छलफल भइरहेको छ । पौडेल गुटले पनि यसलाई अस्वीकार गर्ने अवस्था छैन । तर यसरी प्रक्रियामा नगए यही भदौ १९ पछि पार्टीको वैधानिकता सकिने विषयमा कांग्रेसले चिन्तन गर्नुपर्ने देखिन्छ । 

समयमा काम नगर्ने अनि पार्टीका लोकतान्त्रिक वकिल खोज्दै कानुनको छिद्र केलाउनेतिर कांग्रेस लाग्‍नु हुँदैन । अस्तित्व जोगाउन र आफू लोकतान्त्रिक पार्टी भएको पुष्टि गर्न पनि भदौ १९ भित्रै महाधिवेशन सक्नुपर्छ ।

त्यसो त, सोमबार र मंगलबार सम्पन्‍न पौडेल पक्षका ३५ जिल्लाका सभापतिहरूको भेलाले महाधिवेशन हुनै नदिने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै त्यसमा देउवा पक्षधरलाई दबाब दिन खोजे । तर देउवा पक्षधरले दबाब महसुस गरेको देखिँदैन । 

आखिर जे भए पनि अधिवेशन कार्यतालिका छोट्याएर भए पनि भदौभित्र नै सबै तहको महाधिवेशन सक्दा कांग्रेसजनको हित देखिन्छ । महाधिवेशन मिति सार्दै जाने संविधानको छिद्र खोजेर सुविधा उपयोग गर्दै जाने शैली लोकतान्त्रिक हुनै सक्दैन र आम मानिसमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा पनि फरक आउने देखिन्छ । यसतर्फ कांग्रेस बेलैमा सचेत हुनुपर्छ । 

समयमै महाधिवेशन गनेर वयोवृद्ध एवं ज्येष्ठ सबै पुस्ताले ग्रेसफुस एक्जिट (सम्मानजनक बहिगर्मन) लिँदै जोस र होस भएका, विचार र व्यवहारमा खरो उत्रिएका नयाँ पुस्तालाई निर्वाचनमार्फत कांग्रेस हाँक्न दिनु पार्टीको मात्र होइन, देशकै हितमा छ । आफू मरेपछि कांग्रेस जेसुकै होस् भन्‍ने सोच्‍ने पुस्ता कांग्रेसको रक्षक हो कि भक्षक ? प्रश्न उठ्ने नै छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x