दल

प्रचण्ड र ओलीको एउटै स्वर : तत्काल कम्युनिष्ट एकता हुँदैन !

इकागज |
बैशाख १०, २०८१ सोमबार १६:३७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरि कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।

उनले भने, 'अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिए कि जस्तो लाग्छ । अहिले सहकार्य सुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊँ । सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।'

त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता विभाजन हुँदा ठूलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार सञ्चालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।

उनले अहिले बामपन्थी मात्र मिलेर हिँड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरू मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरू मिलेर अगाडि बढ्नुपर्ने समय भएको बताए । 


Author

थप समाचार
x