दल

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सम्पन्‍न : सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता

इकागज |
बैशाख ९, २०८१ आइतबार १८:४९ बजे

काठमाडौँ- नेकपा एमालेले नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

दुई दिनसम्म ललितपुरको गोदावरीमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै फागुन २१ गते गठन भएको नयाँ समीकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।


पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । बैठकले दलहरुबीचको नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थिर र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको उनले बताए ।

आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको उनले बताए ।

बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढंगले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसँग माग गरिएको उपमहासचिव रिमालले बताए ।

त्यस्तै बैठकले सहकारीहरूमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याइ बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसँग माग गरेको रिमालले जानकारी दिए । यस्तै बैठकले विभिन्न प्रतिवेदनहरू पारित गरेको छ । 


Author

थप समाचार
x