दल

आफूहरूको शान्तिपूर्ण मागलाई बेवास्ता गरे थप सशक्त आन्दोलनको कार्यक्रम गर्ने महतोको चेतावनी

इकागज |
चैत २६, २०८० सोमबार १६:३६ बजे

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आफूहरूको शान्तिपूर्ण मागहरूलाई राज्यले बेवास्ता गरी धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले एकल राष्ट्रिय सत्ताको विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्नका लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले हस्तक्षेप गरी धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको हो । शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना १२ जनालाई पक्राउ गरेको र ४४ जनालाई घाइते भएको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले दाबी गरे ।


आफूहरूको प्रदर्शनमा राज्यले हस्तक्षेप गरेर लोकतन्त्रमा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको उल्लंघनका मात्रै नभई राज्यको बर्बरता भएको उनले बताए । महतोले सरकारको कदमले लोकतान्त्रिक गणतन्त्रको नाममा रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको टिप्पणी गरे ।​

उनले नेपाललाई एकल राष्ट्रिय राज्यबाट बहुलराष्ट्रिय राज्य स्थापनार्थ संघर्षरत रहेको भन्दै पक्राउ परेकाहरूलाई तुरुन्त रिहाइ तथा घाइतेको यथाशिघ्र उपचार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । शान्तिपूर्ण मागलाई बेवास्ता गरे थप सशक्त आन्दोलनको कार्यक्रम गर्ने उनले चेतावनी दिए ।


Author

थप समाचार
x