दल

काठमाडाैँको प्रदर्शनको तयारी गर्न राप्रपा नेताहरू तराई मधेश दौडमा

इकागज |
चैत ४, २०८० आइतबार १५:५ बजे

फाइल तस्बिर

काठमाडाैँ- सरकारसमक्ष राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बुँदे मागपत्र पेस गरेर आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।

आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरू पाँच दिने तराई मधेश यात्रामा निस्कँदै छन् । चैत ५ देखि ८ गतेसम्म तराई मधेशका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने तराई मधेशस्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरू रहने छन् ।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुने छन् ।

राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगञ्जमा आमसभा गर्नेछ भने साँझ उद्याेग वाणिज्य संघको सभाकक्षमा वीरगञ्जका उद्योगी व्यवसायीसँग छलफल र अन्तर्क्रिया गर्नेछ ।

चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैगरी चैत ८ गते सिराहाको लहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


Author

थप समाचार
x