दल

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा ठगी मुद्दा

इकागज |
माघ २२, २०८० सोमबार १९:४० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ ।

लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा जाहेरी दिएका हुन् ।


प्रहरीका अनुसार लामिछानेसहित व्यक्ति र कम्पनीहरूविरुद्ध निवेदन पर्दै आएका थिए । 'निवेदन यसअघि पनि आएको थियो, आज पूरक जाहेरी परेको हो,' कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने, 'जाहेरी परेपछि अनुसन्धान गर्ने प्रक्रिया सुरु भएको छ ।'

सूर्यदर्शन सहकारीका पीडितले यसअघि नै प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए । अब त्यसमा थप अनुसन्धान थालिने विकले बताए ।

लामिछानेसहित व्यक्ति र संस्थाविरुद्ध के कति मात्रामा रकम ठगी गरेको भन्नेबारे प्रहरीले खुलाएको छैन ।

सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राई हुन् । उनी लामिछानेका व्यावसायिक साझेदार हुन् । लामिछानेले उक्त सहकारीबाट रकम लिएको खुलेको थियो ।

यसअघि सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरुद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए ।

राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो ।

सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो । उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


Author

थप समाचार
x