दल

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका आकांक्षी : शीर्ष नेतादेखि कलाकारसम्म

उपेन्द्र अर्याल |
मंसिर २५, २०८० सोमबार १७:४७ बजे

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचन नजिकिएसँगै कांग्रेसभित्र शीर्ष नेतादेखि कलाकारसम्म आकांक्षी देखिएका छन् । उम्मेदवार बन्नका लागि नेताहरू आन्तरिक रूपमा सभापति र पदाधिकारीसँग छलफलमा जुटेका छन् ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्रिय सभामा उम्मेदवारी दिन आकांक्षा देखाएका छन् । प्रतिनिधि सभाको समानुपातिकमा जान खोजेका श्रेष्ठ त्यसबेला सांसद बन्न सकेका थिएनन् । यस पटक भने श्रेष्ठ आफू राष्ट्रिय सभामा जान इच्छुक रहेको इकागजसँगको कुराकानीमा बताए । ‘पार्टीले पठायो भने राष्ट्रिय सभामा जान तयार छु,’ उनले भने, ‘मैले भन्दा पनि पार्टीका साथीहरूले मेरो आवश्यकता महसुस गर्नुभएको छ कि छैन भन्ने मुख्य कुरा हो । हेरौँ पार्टीले के निर्णय गर्छ ।’


उम्मेदवारी बन्नका लागि प्रतिनिधि सभाको समानुपातिकतर्फ बन्दसूचीमा भएको नाम हटाउनुपर्ने प्रावधान भएकाले श्रेष्ठले आफ्नो फिर्ता लिइसकेको बताए । राष्ट्रिय सभाको निर्वाचन नजिकिएसँगै समानुपातिक सूचीबाट नाम फिर्ता गरिदिन आग्रह गर्दै धेरै नेताहरूले पार्टीमा निवेदन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले इकागजलाई बताए । ‘समानुपातिकको बन्द सूचीबाट नाम फिर्ताका लागि धेरै नेताहरूको निवेदन आएको छ,’ उनले भने, ‘त्यसमध्ये गोपालमान श्रेष्ठको फिर्ता लिने निर्णय भइसकेको छ । अरूको अब बैठक बसेर पार्टीले निर्णय गर्नेछ ।’

अहिले पार्टीमा केन्द्रीय सदस्य आनन्द ढुंगाना, केन्द्रीय सदस्य अब्दुल सतार र बालकृष्ण पाण्डेलगायतले समानुपातिक सूचीबाट नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् । आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएर राष्ट्रिय सभामा उम्मेदवार बन्ने उनीहरूको आकांक्षा रहेको पार्टीका एक नेताले बताए ।

यस्तै पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौलालाई पनि यसपटक राष्ट्रिय सभाको उम्मेदवारको आकांक्षीको रूपमा हेरिएको छ । औपचारिक रूपमा पूर्व महामन्त्री सिटौलाको कुरा नउठेको भएता पनि उनलाई यसपटक राष्ट्रिय सभा अध्यक्ष बन्नेगरी उम्मेदवार बनाउने चर्चा छ । सिटौला निकट नेविसंघका पूर्व महामन्त्री बलदेव तिमिल्सिनाले अहिले यसबारे पार्टीमा औपचारिक कुरा नभएको बताए । ‘उहाँको उम्मेदवारी बारे औपचारिक कुरा भएको छैन,’ उनले भने, ‘उहाँले इच्छा राखेपछि पार्टीमा मतभेद कुरै हुँदैन नि ।’

यसबाहेक अहिले सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना) र फरमुल्लाह मन्सुर, सुजता कोइराला, मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माकाे नाम समेत चर्चामा छ ।

गण्डकी प्रदेश सभापति शर्माले पनि राष्ट्रिय सभामा आकांक्षा देखाएका छन् । पाकाे उमेरका शर्माले एक पटक राष्ट्रिय सभामा जाने इच्छा गरेको उनी निकट एक नेताले बताए । उनले भने, 'उहाँ उमेरले पनि पाकाे भइसक्नुभयाे । यस पटक राष्ट्रिय सभामा जाने चाहना राख्नुभएको छ ।'

चिनकाजी श्रेष्ठ गाेरखाका पूर्व जिल्ला सभापति, पूर्व मुख्य सचेतक, पूर्व राज्यमन्त्री, पूर्व मुख्यसचिव र हालको केन्द्रीय सदस्य समेत रहिसकेका छन् । सभापति देउवा निकट मानिएका उनलाई गत प्रतिनिधि सभाकाे निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा लाने भन्दै देउवाले टिकट नदिएर थुम्थुम्याएकाे उनी निकट एक नेताले बताए ।

सहमहामन्त्री उपाध्याय मंसिरमा भएको निर्वाचनमा मकवानपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । यस्तै अर्का सहमहामन्त्री मन्सुर प्रतिनिधि सभाको समानुपातिकको सूचीमा थिए । उनले पनि आफ्नो नाम फिर्ताका लागि पार्टीमा निवेदन दिइसकेको छन् ।

नेतृ सुजाता कोइराला मोरङ-२ बाट एमालेका ऋषिकेष पौडेलसँग पराजित भएकी थिइन् । अहिले उनलाई पनि राष्ट्रिय सभाको उम्मेदवारको रूपमा हेरिएको छ । उनले राष्ट्रिय सभा सदस्यमा आकांक्षा राखेकाे उनी निकट एक नेताले बताए । यस्तै पार्टीमा बौद्धिक नेताका रूपमा चिनिने मिनेन्द्र रिजालले गत निर्वाचनमा टिकटै पाएका थिएनन् । मिनेन्द्रकाे निर्वाचन क्षेत्रमा नेतृ सुजाता काेइरालाले टिकट पाएपछि उनी बाहिरिएका हुन् ।

त्यसैले उनलाई पनि राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवारको रूपमा हेरिएको छ । रिजाल पार्टीमा शेखर काेइराला निकट मानिन्छन् । काेइरालाले उनलाई राष्ट्रिय सभामा लानका लागि आफ्नो टिमबाट सिफारिस गर्ने तयारी गरेको स्राेतले बतायाे ।

यस्तै राष्ट्रिय सभामा उम्मेदवार हुन पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, कलाकार नीर शाह र चिनकाजी श्रेष्ठ पनि आकांक्षी रहेका छन् । काठमाडौँ जिल्ला सभापति बानियाँले यसपटक पार्टीले पठाए आफू उम्मेदवार बन्न इच्छुक रहेको इकागजसँगको कुराकानीमा बताए । ‘उम्मेदवार बनाउने नबनाउने पार्टीको कुरा हो,’ उनले भने, ‘तर, पार्टीले निर्णय गर्यो भने मैले राष्ट्रिय सभामा जानुपर्छ भन्ने सोच बनाएको छु ।’

पार्टीमा अहिले राष्ट्रिय सभाका लागि धेरै आकांक्षी भएकाले कसलाई उम्मेदवार बनाउने भनेर पार्टीले निर्णय गरिनसकेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले बताए । ‘पार्टीमा अहिले आकांक्षी धेरै हुनुहुन्छ,’ उनले इकागजसँग भने, ‘सभापतिले सबैको मौखिक अन्तवार्ता लिइरहनुभएको छ । सभापति र पदाधिकारीसँगको छलफलपछि पार्टीको बैठक बसेर यसमा निर्णय गर्छ ।’

गठबन्धन नै कायम रहे गठबन्धनका साझा उम्मेदवारका रूपमा उठाइने उनले बताए । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ ।

सत्तारूढ दलहरूले गठबन्धन गरेरै चुनाव लड्ने भएकाले कांग्रेसको भागमा २० मध्ये बढीमा ९ सिट पर्ने सम्भावना छ । निर्वाचन आयोगले १९ सदस्यका लागि आगामी माघ ११ गतेका लागि निर्वाचनको मिति तोकेको छ । उम्मेदवारले पुस २३ मा आफ्नो नाम दर्ता गराउनु पर्नेछ । एक जना सदस्य भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x