दल

संघीय सरकारले अधिकार केन्द्रीकृत गर्‍याे : कांग्रेस नेता निधि

सुभाष कर्ण |
भदौ ९, २०८० शनिबार १९:५० बजे

जनकपुरधाम- नेपाली कांग्रेस नेता एवं पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधान राम्रो भए पनि केही त्रुटी र हैकमवादीका कारण संघीयता कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् ।

शनिबार स्थानीय महावीर युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले संघीयता कार्यान्वयन हुन नसक्दा देशको लोकतन्त्र र अर्थतन्त्र मजबुत हुन नसकेको बताए । 


केन्द्रीय सरकारले सबै अधिकार आफ्नै मातहतमा राखी संविधान बमोजिम प्रदेश र स्थानीय तह सरकारलाई अधिकार बाँडफाँट गर्न नसक्दा संघीयता कार्यान्वयन हुन नसकेको भन्दै उनले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई शान्तिपूर्ण संवैधानिक लडाई लड्नुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ । 

उनले भने, ‘केन्द्रीय सरकार संघीयताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघीय कानुन अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघीयता बचाउन आन्दोलनको आवश्यकता छ ।’

मधेश र कांग्रेस एक अर्काको पर्यायवाची शब्द रहेको भन्दै उनले देशका हरेक आन्दोलनमा मधेशको ऐतिहासिक इतिहास रहेको बताए । जसमा कांग्रेसको सहभागिता, समर्थन र सहयोग रहेको पनि उनले उल्लेख गरे । 

अर्को प्रसंगमा उनले नेपालमा अहिले कम्युनिष्ट नभई अधिनायकवाद रहेको आरोप लगाए । नेता निधिले भने, 'चीनमा पनि कम्युनिष्ट नभई अधिनायक र विस्तारवाद छन् र उसकै सिको नेपालका आफूलाई कम्युनिष्टहरूले पनि गरिरहेका छन् । कम्युनिष्टको अधिनायकवाद नीति अन्त्य नभएसम्म देशको लोकतन्त्र र अर्थतन्त्र मजबुत हुन सक्दैन ।'

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरू हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरूले सामाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरूको खोजी गरी सम्मान गर्नुपर्ने उल्लेख गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x