दल

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार र तस्करीको अखडा बन्याे : शेखर कोइराला

सुभाष कर्ण |
भदौ ७, २०८० बिहीबार १७:५५ बजे

जनकपुरधाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार र तस्करीको अखडा बन्दै गएको आरोप लगाएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे आराेप लगाएका हुन् । 

उनले अहिले सरकारले जुन प्रकारले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी लगायतका घटनामा छानबिन र सम्बन्धित निकायका पदाधिकारीलाई सरुवा गरिरहेको छ त्यसले भ्रष्टाचार र तस्करीलाई मलजल दिइरहेको संकेत देखिएकाे बताए । 


उनले भने, 'जुन प्रकारले अहिले नेपालमा अपराधको काण्डैकाण्ड भइरहेको छ त्यसलाई आफूले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको मैले पाएको छु, यसले विश्व स्तरमा नेपालको साख छोड्दै गएको छ, यसलाई नेपाली कांग्रेसले नै सुधार गर्नुपर्छ ।'

पत्रकारहरूको जिज्ञासामा उनले भने, 'साढे तीन महिनामा सरकारको मूल्यांकन के गर्नु तर जुन रूपले प्रथम ग्रासरुट गइरहेको छ त्यसले नेपाल भ्रष्टाचार र अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको प्रष्ट हुन्छ । यसमा भारतीय, चिनियाँ तस्कर, देशीविदेशी र अध्यागमन विभाग लगायतका निकाय संलग्न छन् । त्यसलाई चिर्न सबैलाई मिलाएर अघि बढ्नुपर्छ र यो काम नेपाली कांग्रेसले नै गर्नुपर्छ ।'

एक अर्को प्रसंगमा नेता डा. कोइरालाले वर्गीय संगठनका सभापतिले कार्यसमिति भंग गरेको र त्यसले गर्दा विभिन्न ९ वटा वर्गीय समानान्तर कमिटी गरिएको बताए ।

सो पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति योगेन्द्र पजियार, प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादव लगायतका कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x