दल

हार-जितको चाकाचुलीमा सिटौला : जित्ने पालोमा लिङ्देन हराउन छैन सजिलो

उपेन्द्र अर्याल |
भदौ २८, २०७९ मंगलबार १६:४५ बजे

काठमाडौँ- संघीय र प्रादेशिक निर्वाचन आउन ६९ दिन मात्रै छ । दलहरूले आफ्ना उम्मेदवार चयन गर्ने क्रम जारी छ । सत्ता गठबन्धनले अझै सिट बाँडफाँट टुंग्याइसकेको छैन । भागबन्डा मिलिनसकेपनि शीर्ष नेताहरूको निर्वाचन लड्ने क्षेत्र भने पूर्व निर्धारितै छ ।

गठबन्धनको सिट बाँडफाँट समितिका संयोजक समेत रहेका कांग्रेस नेता कृष्ण सिटौला झापा-३ बाट लड्दैछन् । उनी आगामी निर्वाचनमा अघिल्लो निर्वाचनमा बेहोरेको हारको बदला लिने तयारीमा छन् । ०७४ को निर्वाचनमा नेता सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग १३ हजार बढी मतले हारेका थिए । लिङ्देनले   ४४ हजार ६ सय १४ मत पाउँदा सिटौलाले भने ३१ हजार १ हजार ७१ मत मात्रै पाएका थिए ।


उक्त निर्वाचनमा राप्रपालाई वाम गठबन्धनको साथ थियो । माओवादी र एमालेले आफ्ना उम्मेदवार नउठाएर लिङ्देनलाई समर्थन गरेका थिए । स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको कांग्रेसले भने एक्लै चुनाव लडेको थियो । 

यसपटकको निर्वाचनमा पनि नेता सिटौलालाई जित निकाल्न कठिन देखिन्छ । लिङ्देनलाई यसपटक पनि एमालेको साथ रहने सम्भावना प्रवल छ । लिङ्देनलाई एमालेको साथ रहँदा सिटौलालाई भने पार्टीको आन्तरिक विवादले अझै अप्ठेरोमा पारिरहेको छ । महामन्त्री विश्वप्रकाश शर्मासँगको सिटौलाको मतभेदले आगामी निर्वाचनमा पनि प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । यी दुई नेताहरूको विवादले दुवैलाई असर गर्ने अनुमान व्यापक छ ।

दुईले स्थानीय निर्वाचनमा गरेको विवादले पनि यो पक्षलाई बल पुर्‍याएको छ ।  मेचीनगर नगरपालिकाको मेयरको टिकट सिटौला निकट केशव पाण्डेलाई टिकट दिइएको थियो । तर, पछि फेरि पाण्डेको टिकट खोसेर शर्मा निकट इन्द्रबहादुर बुढाथोकीलाई टिकट दिइएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको उक्त पालिका यस्तै आन्तरिक विवादका कारण गुमाउन पुगेको थियो ।

झापा-३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका सबै वडाहरू पर्छन् । यस्तै भद्रपुर नगरपालिकाका वडा १,२,३,४,५,६,७,८ पर्छन् भने बिर्तामोड नगरपालिकाको वडा १० मात्रै पर्छ ।

स्थानीय निर्वाचनमा पाएको मतका आधारमा हेर्दा कांग्रेसी मत बलियो देखिए पनि एमाले- राप्रपा गठबन्धन भएमा कांग्रेसको जित सहज देखिँदैन । गत निर्वाचनमा बाह्रदशी गाउँपालिका एमालेले जितेको छ ।

कांग्रेस र राप्रपाका उम्मेदवार क्रमशः दोस्रो र तेस्रो भएका थिए । पालिकाका ७ वटा वडामध्ये ४ वटामा कांग्रेस विजयी भएको थियो । बाँकी ३ वटा वडा भने राप्रपा, एमाले र स्वतन्त्रले एक-एक वटामा जित हासिल गरेका थिए । यस्तै हल्दीबारी गाउँपालिका राप्रपाले जितेको थियो । यस पालिकामा एमाले दोस्रो दल बनेको थियो । ५ वटा वडा रहेको उक्त पालिकामा राप्रपाले २ वटा वडा जितेको थियो भने बाँकी ३ वटामा माओवादी, कांग्रेस र एमालेले एक-एक वडा जितेका थिए ।

झापा-३ मै पर्ने कचनकवल गाउँपालिकामा भने कांग्रेस विजयी भएको थियो । ७ वटा वडा रहेको उक्त पालिकामा कांग्रेसले ६ वटा वडा जितेको थियो भने एउटामा एमाले जित निकालेको थियो । यस्तै भद्रपुर नगरपालिका १० वटा वडामा ४ वटामा एमाले, एउटामा कांग्रेस, २ वटामा राप्रपा र एउटामा माओवादी विजयी भएको थियो । यस्तै बिर्तामोड नगरपालिकाको एउटा वडामा भने कांग्रेस विजयी भएको थियो ।

सिटौला ०४८ साल यताका ७ वटै संसदीय निर्वाचनमा उम्मेदवार रहँदै आएका छन् । आगामी निर्वाचन सिटौलाका लागि ८ औँ निर्वाचन हुनेछ । हालसम्म ७ पटक चुनावमा लड्दा उनी तीन पटकमात्रै विजयी भएका छन् । सिटौला  ०४८ को निर्वाचनमा झापा-१ बाट उम्मेदवार बनेका थिए । तर उनलाई एमालेका द्रोणप्रसाद आचार्यले पराजित गरे । पछि ५० सालमा भएको उपनिर्वाचनमा भने उनी विजयी भएका थिए । 

०५१ सालमा भएको निर्वाचनमा सिटौला झापा-३ बाट उठेका थिए । उनी एमालेका पुष्प पोखरेलसँग पराजित भए  । त्यसपछि ०५६ सालमा भएको निर्वाचनमा झापा-३ बाट उनले एमाले उम्मेदवार नारायण राजवंशीलाई हराएर जित निकाले ।  

०६४ पहिलो संविधानसभा निर्वाचनमा भने उनलाई झापा-३ मा माओवादीका पूर्णप्रसाद राजवंशीले हराएका थिए ।  तर, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई हराएका थिए । त्यसको बदला लिङ्देनले २०७४ सालको संसदीय निर्वाचनमा हराएर लिएका थिए । हालसम्मको ७ वटा निर्वाचनमा हार पछि जित र जित पछि हार बेहोर्दै आएका सिटौलाको आगामी निर्वाचन जितको पालोमा अड्किएको छ । आफ्नो जित्ने पालोमा लिङ्देनसँगको पुरानो हारको बदला लिने अवसर पनि  सिटौलासँग छ । तर, सानो गुट बोकेर राष्ट्रिय राजनीतिमा च्याँखे थापिरहने छवि बनाएका सिटौलालाई राप्रपाको पार्टी अध्यक्षलाई नै हराएर चुनाव जित्न सजिलो भने छैन ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x