संगीत

क्यानाडामा पहिलो पल्ट जुरेको नेपथ्यको संगीत यात्रा

इकागज |
असोज ४, २०८० बिहीबार १०:३९ बजे

काठमाडौं -  विदेशका धेरै मुलुकका नेपालीबीच आफूलाई प्रस्तुत गर्दै आइरहेको  नेपथ्यले क्यानाडामा भने पहिलो पटक आफ्ना गीत प्रस्तुत गर्ने भएको छ । निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा पहिलो प्रस्तुति दिनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको 'द भोग थिएटर' मा हुनेछ । यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै विख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।

दुई महिनाअघि मात्र म्यासी हलले सामाजिक सञ्जाल मार्फत् नेपथ्य कन्सर्टको तालिका घोषणा गर्दा क्यानाडामै बसोबास गर्दैआएकी लेखिका मन्जुश्री थापाले सामाजिक संजाल मार्फत खुशी प्रकट गरेकी थिइन्, ‘नेपथ्य आउने समाचारले केही शितलता महसुस गराएको छ,’ उनले अगाडि थपेकी थिइन्, ‘माओवादी द्वन्द्वकालको चरम निराशाका क्षणमा आशाको सञ्चार गरेर लगाइदिएको गुनका निम्ति नेपथ्य सदैव प्रिय छ ।’


सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ । सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतीहरुलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रवर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्ने छ ।

‘क्यानाडामा हुने प्राय नेपाली कार्यक्रमहरु अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरुले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपाली त्यो संभावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं ।’ नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने प्रमुख गन्तब्य मध्येको क्यानाडामा नेपाली जनसंख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने संभावना देखिन थालेको श्रेष्ठ थप्छन् ।

नेपालयले उचित व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतिमा एकरुपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राविधिकहरुलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ । सोही अनुरुप, अघिल्लो महिनाको श्रृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मी सहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुने छन् ।

‘हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भएता पनि त्यहाँ बसोबास गर्ने नेपालीहरुले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दसैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं ।’ क्यानाडामा रहेका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए ।
‘कतिपय प्रसंशकहरुले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौं ।’

क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

क्यानाडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुनेछ । आनलाइनबाट टिकटको बिक्रि व्यवस्थापन भैरहेको यात्राका सबै कन्सर्टहरुमा विद्यार्थी समुहको निम्ति विशेष छुटको ब्यवस्था पनि गरिएको छ । टिकट तथा अन्य जानकारी नेपथ्यको अधिकारिक वेबसाइट (www.nepathya.com.np) र सामाजिक संजालका पानाहरु मार्फत उपलब्ध छन् ।  


Author

थप समाचार
x