संगीत

युएईमा ‘लेकाली’को कन्सर्ट

इकागज |
बैशाख ५, २०८० मंगलबार ११:५१ बजे

काठमाडौँ- पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ साङ्गीतिक यात्राका क्रममा युएई जाने भएको छ । कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो । यही अप्रिल २२ मा दुबई र २३ मा आवुधावीमा ‘लेकाली ब्याण्ड लाइभ इन कन्सर्ट’ आयोजना हुने ब्याण्डका सदस्य नवीन गुरुङले जानकारी गराए । 

 युएईमा रहेका नेपाली समुदायको आयोजना र व्यवस्थापनमा कार्यक्रम हुन लागेको उनको भनाइ छ । 'कोभिड महामारीपछि कन्सर्ट लिएर पहिलोपटक विदेश जाँदैछौँ”, उनले भने, 'युएईपछि अरु देश पनि जाने तयारी छ ।'


ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विदेशयात्रा तय गरिएको हो । ब्याण्डमा गायक नवीनसहित विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी छ सदस्य छन् ।

विसं २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’लगायत गीत चर्चित छन् । लेकालीले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो । त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्कि हेर्दा’लगायत एल्बम स्रोतामाझ ल्याएको थियो ।

पोखरामा साङ्गीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रियजस्तै बनेको थियो । ब्याण्डका नयाँ–पुराना सदस्य मिलेर लेकालीलाई फेरि पुरानै लयतिर फर्काउने प्रयासमा लागेका हुन् ।

स्थापनाकालमा ब्याण्डमा रहेका कतिपय कलाकार अहिले विदेशमा छन् । लेकालीले पोखरालगायत देशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ । यसअघि लेकालीले हङ्कङ, बेलायतलगायत देशमा लाइभ कन्सर्ट गरिसकेको छ । जापान, कोरिया, मकाउलगायत देशमा कन्सर्टको तयारी भइरहेको लेकालीले जनाएको छ ।

सङ्गीतमा नेपालीपन लेकाली ब्याण्डको विशेषता हो । “बजारमा के चलेको भन्दा पनि पछिसम्म कालजयी हुने गरी गीतसङ्गीत सिर्जना गर्छौँ”, ब्याण्डका अर्का सदस्य अमितको भनाइ छ  ।


Author

थप समाचार
x