संगीत

प्रकाश सपुतको ‘सकम्बरी’मा किन भइरहेको छ विवाद ?

इकागज |
बैशाख ४, २०८० सोमबार १३:४३ बजे

काठमाडौँ - प्रकाश सपुत र उनका सिर्जना विवादका पर्याय जस्तै भएका छन् । कहिले उनलाई गीत चोरीको आरोप लाग्ने गरेको छ त कहिले समाजको गलत चित्रणको । दोहोरीमा र्याप हान्ने दोहोरी ब्याटलबाट धेरैको नजरमा परेका उनलाई ‘बोलमाया’बोलको गीतले चर्चाको शिखरमा पुर्याएको थियो । यसपछि भने उनले जुन गीत छोए तिनले संगीतप्रेमीको मन झङ्कृत भयो । ‘गलबन्दी च्यातियो’, ‘फुटेको चुरा’ ‘बदला बरि लै’, ‘कुरा बुझ्न पर्छ’ र ‘पिर’ यस्ता गीत थिए जसले करोडौँ दर्शक पाए । तर यी गीतका भिडियो भने कहिलै पनि विवादरहित रहेनन् । 

‘गलबन्दी’को लयमा अर्का लोक गायक शम्भु राईले दाबी गरेपछि प्रकाश सपुत संगीत सिर्जनामा शम्भु राईको नाम राख्न बाध्य भएका थिए । शम्भु राईले ‘गलबन्दी’ गीत आफ्नो स्वर संगीत रहेको ‘देउसी भैलो’गीतबाट चोरी भएको आरोप लगाएका थिए । यसपछि ‘कुरा बुझ्न पर्छ’को भिडियोमा देखाएका केही दृश्य पनि विवादरहित थिएनन् । यसमा पनि महिला सशक्तिकरणका कुरा उठाउँदा उठाउँदै पनि केही दृश्य बिझाउने थिए ।

अघिल्लो साल सार्वजनिक भएको ‘पिर’लाई लिएर त माओवादी कार्यकर्ताले ठूलै विरोध गरेका थिए । उनले माओवादी महिला क्रान्तिपछि जीवन निर्वाहका लागि वेश्यावृत्ति गर्न बाध्य भएको सामान्यीकरण गरेका थिए । तीन दिनअघि सार्वजनिक भएको ‘सकम्बरी’ पनि सार्वजनिक भएसँगै विवादको भूमरीमा परेको छ । यसमा महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको आरोप छ ।  गीतको भिडियोमा प्रकाश सपुतले महिला कलाकारले पुरुषसँग रात बिताएर मात्र सफलताको सिंढी चढ्न सक्छन् भन्ने आसय व्यक्त गरेका छन् । यही आसयलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । 


गीतको भिडियोमा प्रकाश सपुत स्वयंले महिलाको अस्मिता लुटेपछि तिमीले झुम्का कसरी पायौ ? पाउजु कसरी किन्यौ ? तिम्रो वैंशको आयु कति छ ? जस्ता प्रश्न सोधेका छन् । गीतको आलोचना गर्नेले आफू स्वयं शोषण गर्ने र उल्टै महिलालाई प्रश्न गर्ने भनेर सपुतको कला चेतमाथि प्रश्न उठाएका हुन् ।  ‘पिर’को समयमा पनि उनले विरोधपछि माओवादी शभुचिन्तकले आपत्तिजनक मानेका दृश्य सम्पादन गरेर फेरि भिडियो अपलोड गरेका थिए । 
 


Author

थप समाचार
x