प्रदेश / स्थानीय सरकार

पोखरा-मुग्लिन सडक कालोपत्रेले जगाएको आशा

धनबहादुर गुरुङ |
कात्तिक २१, २०८० मंगलबार २१:२७ बजे

पोखरा- पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-पोखरा सडक खण्ड विस्तारको काम चलिरहेको छ । यहाँ आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्ड बनाएर काम भइरहेको छ । पहिलो खण्ड आँबुखैरेनीदेखि जामुनेसम्म हो भने दोस्रो जामुनेदेखि पोखरासम्म छ । तर, यी दुवै स्थानमा काम ढिला भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसैबीच केही खण्डमा कालोपत्रे सुरु भएको छ । पिचको काम सुरु भएपछि थोरै भए पनि आशा जगाएको यात्रुहरूले बताएका छन् ।

अहिले सडक खण्ड स्तरोन्नतिअन्तर्गत पूर्वतर्फको ठेक्कामा कालोपत्रे सुरु भएको हो । मुग्लिन-पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरूप बन्दीपुर गाउँपालिका-१ पूर्वी खण्डको डुम्रेदेखि छिर्कने भञ्ज्याङसम्म ३ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । कालोपत्रेको काम सुरु भएपछि खुसी लागेको सोमबार मुग्लिन हुँदै पोखरा आएका मनबहादुर गुरुङले बताए ।


‘घाम लागेका समयमा धुलाम्मे भएर साह्रै गाह्रो । झ्याल नलगाउ धुलो हुने लगाउँदा गर्मी उस्तै समस्या हुन्थ्यो,’ उनले भने, ‘यो पटक पोखरा आउँदै गर्दा कालोपत्रेको काम हुँदै गरेको देखेँ अहिले केही आशा जागेको छ ।’ छिट्टै मुग्लिनदेखि पोखरासम्मै कालोपत्रे भए हिलो धुलोको सास्ती खेप्न नपर्ने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि उक्त खण्डमा पिच हुन थालेपछि उत्साह थपिएको बताए । ‘पिच भएको खबर सुनेर हेर्न गएँ । निकै राम्रो काम भैरहेको देखेपछि उत्साह आएको छ,’ उनले भने, ‘पश्चिम खण्डमा पनि यसरी नै काम भए छिट्टै सकिने विश्वास छ । तर, पश्चिमको काममा ढिलाई भैरहेको छ ।’

उनले तोकिएकै म्यादभित्र काम सक्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् । लामो समयसम्म बाटोको निर्माण नहुँदा पोखरा लगायत देशभरको पर्यटनमा नकारात्मक प्रभाव परेको र यात्रु तथा स्थानीयले पनि धेरै सास्ती भोग्नु परेको उनको भनाइ छ ।

यहाँको ३ किलोमिटर सडक तिहारअघि नै कालोपत्रे सम्पन्न गरिने इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत जेठमा बरादी खण्डको ३ किमी पिच गरिएकोमा यो वर्षको पहिलो पटक छिर्कने क्षेत्रमा पिच गरिएको हो ।

आँबुखैरेनीदेखि पोखरासम्म करिब ८२ किमी सडकलाई दुई वटा ठेक्का लगाइएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्डको करिब ४२ किमी सडकमा हालसम्म ३७ प्रतिशत प्रगति भएको छ । २०८१ वैशाखसम्म काम सक्ने गरी पूर्वी खण्डको चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । 

यस्तै, दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म ३८ किमी खण्डमा १० प्रतिशत भौतिक प्रगति भएको छ । जामुनेदेखि पोखरासम्मको सडक स्तरोन्नति गर्न चीनकै एनहुई केयुयन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको हो । यो खण्डको काम २०८१ भदौ मसान्तसम्म सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंक (एडिबी) को २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । यो सडक २५ मिटर फराकिलो हुनेछ भने सहरी क्षेत्रमा ४१ मिटर हुनेछ ।


Author

थप समाचार
x