प्रदेश / स्थानीय सरकार

कार्यकाल सकिएपछि सुदूरपश्चिम प्रदेश सभाका माननीयले बुझे दसैँ खर्च

दीपक उपाध्याय |
असोज १८, २०७९ मंगलबार ७:३३ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले कार्यकाल सकिएपछि पनि दसैँ खर्च बुझेका छन् । चाडपर्व खर्चअन्तर्गत सुदूरपश्चिम प्रदेश सभाका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दसैँ खर्च बुझेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार गत असोज १३ गते प्रदेश सभा सदस्यहरू तथा पदाधिकारीहरूको खातामा एक महिनाको तलब बराबरको दसैँ खर्च पठाइएको हो । सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले ६४ हजार, उपसभामुख निर्मला बडाल जोशी र विपक्षी दलका नेता प्रकाश शाहले ५९ हजार ५ सय, विषयगत समितिका सभापति हर्क कुँवर, नेपालु चौधरी, कुमारीनन्दा बम, कुन्ती जोशी र सत्ता पक्षीय प्रमुख सचेतक दुर्गा विकले प्रतिव्यक्ति ५७ हजार ५ सयका दरले दसैँ खर्च बुझेका छन् ।


दुर्गा केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरिसकेकी भए पनि उनले पुरानै दलबाट दसैँ खर्च लिएकी छिन् । त्यस्तै विपक्षी दलका प्रमुख सचेतक लिलाधर भट्ट, सत्ता पक्षीय सचेतक अक्कल रावल र अम्बी थापाले पनि प्रतिव्यक्ति ५७ हजारका दरले रकम बुझेका छन् ।

यी बाहेक प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको ६५ हजार ५ सय बुझेका छन् । प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयनको प्रक्रियासँगै प्रदेश सभा सदस्यहरूको पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

सोही आधारमा बन्दसूची पेस भएको असोज २ को अघिल्लो दिन १ गते रातिदेखि उनीहरू पदमुक्त भएका छन् । पदमुक्त भइसकेपछि पनि राज्यको ढुकुटीबाट रकम लिएपछि अहिले उनीहरूको आलोचना शुरु भएको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x