साहित्य

देश र जनताको सधैं अपमान छ

शुरज थपलिया |
फागुन २२, २०८० मंगलबार ११:२१ बजे

विमानस्थलमा विदेशिनेको लाम छ 
सडकमा अझै सडक जाम छ
सरकार फेर्न हतार भयो रे नेताजीलाई
देश र जनतामाथि अनेक छलछाम छ 

गरिबको चमेली बोल्दिने कोहि छैन भन्दै
जित्छन् चुनाव नेताहरू
जितेर पदमा पुगेपछि 
मतदाताकै यहाँ अपमान छ 


भेटिन्न ठेला गाढा अचेल
देखिन्न सडक किनारा लुगा बेच्ने
गरिब देशमा हजुर आजकल
गरिखानेकै अपमान छ 

धुलाम्मे र हिलाम्मे छन् सडक
चिल्ला गाडीको लामो लाम छ
हुँकिन्छन् हिलो छ्याप्दै बटुवालाई 
पैदल यात्रीकै अपमान छ 

रोक्नै पाइन्न ट्याक्सी र मोटरसाइकल
नत बस नै जान्छ न्युरोड बजार
अर्थतन्त्र उकास्ने व्यवसायीको 
पाइला पाइलामा अपमान छ 

न छ शुद्ध पिउने पानी
न राम्रो छ स्वास्थ्य, शिक्षा 
सरकारी विद्यालय र अस्पताल जाने
जनताकै धेरै अपमान छ

देखाउँछन् मेलम्ची सपना 
काकाकुल छ काठमाडौँ 
खराब राजनीति संस्कारले 
देश र जनताको सधैँ अपमान छ

 


Author

थप समाचार
x