साहित्य

ओझाको 'ऐँठन'माथि चितवनमा विमर्श

इकागज |
साउन ५, २०८० शुक्रबार २१:७ बजे

भरतपुर- युवा आख्यानकार विवेक ओझाको `ऐँठन´ उपन्यासको विमर्श गरिएको छ । चितवन कचेहेरीको आयोजनामा शुक्रबार डबली क्याफे भरतपुरमा उपन्यासका विविध आयामका सन्दर्भमा रहेर छलफल गरिएको छ ।

विमर्श कार्यक्रममा लेखक ओझासँगै डाक्टर सञ्जीव उप्रेती र सरिता तिवारी सहभागी थिए । ऐँठन उपन्यासमा १० वर्षे माओवादी जनयुद्धको कथालाई लेखक ओझाले कलात्मक ढंगले वर्णन गरेको टिप्पणीकार सरिता तिवारीले बताइन् । तिवारीले माओवादी जनयुद्धको सामाजिक र राजनीतिक प्रभावका बारेमा चर्चा गरिन् ।


अर्का टिप्पणीकार डाक्टर सञ्जीव उप्रेतीले ऐँठन जीवनवादी उपन्यास भएको बताउँदै ओझाले उपन्यासमा जीवन र जगतको चर्चा गरेको बताए । पाठकीय टिप्पणी राख्दै उदय अधिकारीले ऐँठन युद्धका धेरै प्रसङ्गहरू जोडिएको उपन्यास भएकोले यो युद्ध संग्रहालय जस्तो लागेको बताए ।

जनयुद्धका घाइतेको कारुणिक अवस्थाले आफूलाई ऐँठन लेख्न प्रेरणा मिलेको ओझाले बताए । `माइतीघर मण्डलामा व्हिलचियरमा आएका पूर्वलडाकुको अवस्था देखेपछि ममा यो विषयमा लेख्ने रहर पलायो´, ओझाले भने । कार्यक्रमलाई जीवन क्षेत्रीले सहजीकरण गरेका थिए ।


Author

थप समाचार
x