साहित्य

शब्द सारथिमा कविताद्वारा भानुको सम्झना

इकागज |
असार २९, २०८० शुक्रबार १९:३४ बजे

चौतारा- सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ ।

नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरूले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए ।


‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ,' शृङ्खला सञ्चालनको शुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने, ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता हो ।’

विशेष शृङ्खलामा शब्द सारथिका अध्यक्ष अमित घिमिरेले भानुभक्तको सिर्जना र व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । आफ्नो सिर्जनासहित संक्षिप्त मन्तव्य राख्दै घिमिरेले नेपाली भाषालाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका आदिकविबारे प्राज्ञिक रूपमा बहस हुनुपर्ने बताए । ‘उहाँले नेपाली साहित्यमा पुर्‍याएको योगदान बारे प्राज्ञिक रुपमै बहस हुन जरुरी छ,' उनले भने, ‘भानुभक्त साहित्यकारका लागि मात्र प्रेरणाका स्रोत होइनन् । त्यसकारण मातृभाषाको शक्ति एवं महत्व जगाउन पनि आदिकविको सिर्जना र व्यक्तित्वबारे चर्चा परिचर्चा हुनुपर्दछ ।’

कार्यक्रममा कञ्चन स्मृतिग्राम पुस्तकालयका अध्यक्ष, साहित्यकार एवम् पत्रकार सुरेश कजजूले भानुजनन्तीको शुभकामना दिएका थिए । त्यस्तै कवि एवम् अखिल नेपाल लेखक संघ बागमती प्रदेशका उपाध्यक्ष हेमन प्रधान, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेत, कवि एवम् तेक्वान्दो खेलाडि रमेश गुरुङ लगायतका स्रष्टाले कवितामार्फत भानुभक्तलाई सम्झिएका थिए ।

स्रष्टा, साहित्यकार, सञ्चारकर्मी, बुद्धिजीवीको बाक्लो उपस्थितिमा भएको भानु विशेष शृङ्खलामा भानुभक्तकृत कृति ‘रामायण', ‘वधुशिक्षा', ‘प्रश्नोत्तर', ‘भक्तमाला,' लगायत फुटकर रचनाको बारे चर्चा परिचर्चा गरिएको थियो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनि अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको विभिन्न सोध ग्रन्थमा पाइन्छ ।
शब्द सारथिले हरेक शुक्रबार सुन्ने र सुनाउने साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको छ । संस्थाले साहित्यको प्रवर्द्धनका लागि विशेष शृङ्खलाहरू सञ्चालन गर्दै आइरहेको छ ।

‘न्यायका लागि कविता', ‘पर्यटन प्रवर्द्धनका लागि साहित्य', ‘सिन्धु–दार्जालिङ साहित्य यात्रा', ‘पोखरेली स्रष्टासँग सिन्धु स्रष्टा,’ ‘सिन्धु साहित्य उत्सव', ‘स्रष्टा सम्मान’ जस्ता महत्वपूर्ण साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको शब्द सारथिले कविता, गजल, मुक्तक, हाइकु, बाल साहित्य विशेष शृङ्खला समेत सञ्चालन गरेको जनाएको छ ।


Author

थप समाचार
x