साहित्य

गायक मित्रसेनको जीवनी प्रेरित 'लाहुरेको रेलिमाई' सार्वजनिक

इकागज |
बैशाख २४, २०८० आइतबार १४:१८ बजे

काठमाडौँ - पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास 'लाहुरेको रेलिमाई'  शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । प्रा. डा. गोविन्दराज भट्टराई, कवि विमला तुम्खेवा चलचित्र निर्देशक प्रकाश सायमी र समीक्षक राजकुमार बानियाँले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास 'लाहुरेको रेलिमाई' सार्वजनिक गरेका  थिए ।

कार्यक्रममा बोल्दै प्रा. डा. गोविन्दराज भट्टराइले पहिलो विश्वयुद्धमा आधारित उपन्यास नेपाली युद्ध साहित्यको मास्टर पिस भएको बताउनु भयो । 'लाहुरेको रेलिमाई' ऐतिहासिक उपन्यास भएको बताउँदै उपन्यासले सयवर्षपछि नेपाली समाज बल्ल जागृत भएको भान गराएको पनि उल्लेख गर्नुभयो ।


पूर्व गोर्खा सैनिककी छोरी कवि विमला तुम्खेवाले लेखकले लाहुरेको मनोदशा जीवन्त उतारेको बताउनुभयो । आफ्नो बुबालाई संस्मरण गर्दै कवि तुम्खेवाले उपन्यासले बम र बारुदबीच पनि जीवन खोज्ने लाहुरेको प्रकृतिलाई लेखकले न्याय गरेको उल्लेख गर्नुभयो ।

चलचित्र निर्देशक प्रकाश सायमीले मास्टर मित्रसेनको संगीतको चर्चा गर्दै पुस्तकले मास्टर मित्रसेनको इतिहासलाई नेपाली पाठकमाझ पुर्याएर लेखकले गुन लगाएको बताए । भारत र नेपालमा राज्य र जनता दुवैले सम्मानित गरेका कलाकार मास्टर मित्रसेन भएको बताउँदै सायमीले उहाँको जीवनीमा आधारित उपन्यास मित्रसेनको सांगीतिक विरासतलाई सुरक्षित गर्ने दस्तावेजका रुपमा आएको उल्लेख गर्नुभयो ।

दस्तावेजका रुपमा छापे पनि हुने कुरालाई आख्यानमा उतार्न लेखक विजय हितानले ७ वर्ष खोज अध्ययन र एकदशकभन्दा बढि मास्टर मित्रसेनको जीवनीमा रुचि लिएको बताए  । पहिलो विश्वयुद्धबारे नेपाली साहित्यमा कमै लेखिएकाले र आफू पूर्व लाहुरे हुनुको नाताले पनि मास्टर मित्रसेनको जीवनी लेख्ने प्रेरणा मिलेको उनको भनाइ थियो ।

सांग्रिला बुक्सले प्रकाशित गरेको कृति लाहुरेको रेलिमाईले पहिलो विश्वयुद्धमा गोर्खा सैनिकको सिपाही बनेर लडेका मित्रसेन थापा सिँजाली मगरको मास्टर मित्रसेनसम्मको यात्रालाई लिपिवद्ध गरेको छ ।

 


Author

थप समाचार
x