साहित्य

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी : तीन रुपैँयादेखि दुई हजारसम्मका किताब बिक्रीमा

इकागज |
मंसिर १५, २०७९ बिहीबार १२:५४ बजे

काठमाडौँ- पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित बिहीबारबाट नेपाल प्रज्ञा प्रतिष्ठानले  पुस्तक प्रदर्शनी सुरु गरेको छ ।   प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले  जानकारी गराए । प्रदर्शनीमा तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक  राखिने भएका छन् ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयमा करिब पाँच सय थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन् ।


नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको ढुङ्गेलले जानकारी दिए  ।

माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता  तीन रुपैँयादेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको ढुङ्गेलले बताए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए ।

 प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पुर्याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ ।


Author

थप समाचार
x