अनियमितता

पर्साको मालपोत कार्यालयका तत्कालीन ७ अधिकृत र नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
कात्तिक २०, २०८० सोमबार १४:२२ बजे

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन ७ जना अधिकृत र १ जना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र नायव सुब्बा किरण प्रसाद उपाधयायविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सोमबार आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताएका छन् । आयोगले यी कर्मचारीहरूले आर्थिक वर्ष २०७१।७२ मा मालपोत कार्यालय पर्साका रजिष्ट्रेसन फाँट “ग”मा जग्गा किनबेचको क्रममा एकै रजिष्ट्रेसन नम्बर राखी लिखतहरु पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको आरोप लगाएको छ ।


आयोगका अनुसार तत्कालीन अधिकृत मिश्रले दुई करोड ९ लाख ३१ हजार, अधिकृत बोगटीले १ करोड ४९ लाख ६९ हजार, अधिकृत ढुंगानाले ३५ लाख ४५ हजार, अधिकृत अर्यालले १६ लाख ८१ हजार ६ सय, अधिकृत चन्द्र भण्डारी २ लाख ४४ हजार ४ सय ६२ भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ ।

यस्तै कम्प्युटर अधिकृत तिवारीले  १ करोड ४१ लाख ४७ हजार र नायब सुब्बा उपाध्यायले ५ करोड ५५ लाख १९ हजार भ्रष्टाचार गरेको आयोगको ठहर छ । आरोपीविरुद्द भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद सजाय र हिनामिना भएको रकमको दोब्बर जरिमाना गराउन आयोगले अदालत समक्ष माग गरेको  छ ।


Author

थप समाचार
x