अनियमितता

गैरकानुनी रूपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

इकागज |
असोज १९, २०८० शुक्रबार १७:५५ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले कोइरालाविरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सिनियर अहेब कोइराला सरकारी सेवामा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्मको कोइरालाले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ ।


सो अवधिमा कोइरालाले रु दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले रु तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ । 

कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ । 

स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफत गरी बिगो बमोजिम कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । आयोगले अहेब कोइराला र श्रीमती गीताविरुद्ध बिगो बमोजिम कारबाहीको माग दाबी गरेको छ । रासस


Author

थप समाचार
x